Date

बुध, जेष्ठ २१, २०८२
Wed, June 4, 2025

राइड सेयरिङ्ग र स्व–ड्राइभ नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीको देशव्यापी आन्दोलन, सिंहदरबारमा वार्ता जारी

राइड सेयरिङ्ग र स्व–ड्राइभ नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीको देशव्यापी आन्दोलन, सिंहदरबारमा वार्ता जारी

काठमाडाैं, १९ जेष्ठ । राइड सेयरिङ्ग तथा स्व–ड्राइभ सवारी सञ्चालनसम्बन्धी गण्डकी प्रदेश सरकारद्वारा स्वीकृत नयाँ नियमावलीको विरोधमा जारी सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलन समाधानका लागि सिंहदरबारमा वार्ता जारी छ।

गृहमन्त्री रामेश लेखकको नेतृत्वमा सरकार पक्ष र आन्दोलनरत यातायात व्यवसायीहरूबीच वार्ता भइरहेको हो। व्यवसायीहरूको मुख्य माग भनेको निजी स्वामित्वमा रहेका सवारी साधनहरूलाई भाडामा प्रयोग गर्न दिने नियम खारेज गर्नु हो। उनीहरूको भनाइमा यो नियमले सार्वजनिक यातायात व्यवसायीहरूको रोजगारी र लगानीलाई संकटमा पार्दछ।

केन्द्रीय सार्वजनिक यातायात संरक्षण संघर्ष समितिको नेतृत्वमा व्यवसायीहरूले सोमबारदेखि देशभर सार्वजनिक यातायात सेवा बन्द गराएका छन्। यसले दैनिक जनजीवनमा ठूलो असर परेको छ। देशभरका यात्रुहरू बसपार्क तथा सडक किनारमा अलपत्र परेका छन्।

काठमाडौं उपत्यकामा सामान्यतया भीडभाड हुने सडकहरू अहिले सुनसान देखिएका छन्। निजी मोटरसाइकल, कार र केही ट्याक्सीबाहेक सार्वजनिक सवारीसाधन—जस्तै बस, माइक्रोबस, टेम्पो आदि—सञ्चालनमा छैनन्।

अहिलेसम्म वार्ताबाट सहमति नजुटेका कारण अनिश्चितकालीन बन्द जारी नै छ। आन्दोलनका कारण देशभर सार्वजनिक आवागमनमा ठूलो असर परेको छ भने यात्रुहरू मारमा परेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *