सार्वजनिक यातायात ठप्प भएपछि यात्रु सहायता गर्न नेपाल प्रहरीका दुई बस सञ्चालनमा, निःशुल्क सेवा

काठमाडाैं, १९ जेष्ठ । सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरू समस्यामा नपर्न भनेर नेपाल प्रहरीले सोमबारदेखि दुईवटा बस सञ्चालनमा ल्याएको छ। यातायात व्यवसायीहरूको देशव्यापी आन्दोलनका कारण सार्वजनिक यातायात सेवा ठप्प भएपछि यात्रुहरूको सहज आवागमनका लागि प्रहरीले यो सेवा सुरु गरेको हो।
नेपाल प्रहरीका अनुसार, दुवै बस छुट्टाछुट्टै रुटमा सञ्चालन गरिएको छ। यात्रुले यस बसमा यात्रा गर्दा कुनै भाडा तिर्नु पर्दैन। निःशुल्क रुपमा सेवा प्रदान गरिएको प्रहरीले जानकारी दिएको छ।
पहिलो रुट:
यस बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, मैतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै नक्साल फर्किनेछ।
दोस्रो रुट:
दोस्रो बसले नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, थिमी, साल्लाघारी, सूर्यविनायक हुँदै चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ अस्पताल, बालुवाटार भएर पुनः नक्साल फर्किनेछ।
यात्रु सहायता गर्न परिचालित यी बसहरूले सोमबारदेखि नै सेवा सुरु गरेका हुन्।
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड-सेयरिङ (सवारी साझेदारी) सम्बन्धी नियमावली खारेज गर्नुपर्ने लगायतका ७ बुँदे माग अघि सार्दै देशव्यापी यातायात बन्द गरेका हुन्। त्यसकै कारण सोमबारदेखि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ, जसले यात्रुहरूलाई अत्यन्तै सास्ती दिएको छ।