Date

बुध, जेष्ठ २१, २०८२
Wed, June 4, 2025

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने, २० दिनका लागि निक्षेप संकलनको बोलकबोल आह्वान

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने, २० दिनका लागि निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडाैं, १९ जेष्ठ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्ने भएको छ। बजारमा अत्यधिक तरलता देखिएको भन्दै राष्ट्र बैंकले निरन्तर मौद्रिक व्यवस्थापनको रणनीति अनुसार निक्षेप संकलनमार्फत नगद तान्ने अभ्यासलाई निरन्तरता दिएको हो।

यसका लागि राष्ट्र बैंकले २० दिन अवधिको लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। बोलकबोल प्रक्रिया सोमबार दिउँसो ३ बजे सम्पन्न हुनेछ।

बोलकबोलमा सहभागी संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव राख्न सक्नेछन्। यदि कुल मागभन्दा बढी रकमको बोल आइपरेमा बाँकी रकम प्रो–राटा अर्थात् अनुपातिक रूपमा बाँडफाँड गरिनेछ।

राष्ट्र बैंकका अनुसार, उठाइने निक्षेपको सावाँ तथा ब्याज असार ८ गते भुक्तानी गरिनुपर्नेछ। यस योजनाअन्तर्गत ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। सहभागी संस्थाहरूले दशमलव पछिका चार अङ्कसम्म ब्याजदर उल्लेख गर्न सक्नेछन्। साथै, एउटै बोलकबोलमा विभिन्न ब्याजदरका साथ एकभन्दा बढी प्रस्ताव दिने सुविधा पनि दिइएको छ।

यसअघि पनि राष्ट्र बैंकले एकैदिन ८० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गरिसकेको छ। तरलता प्रशस्त रहेको अवस्थामा यस्तो मौद्रिक उपकरणको प्रयोगले बजारमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *