नेपाललाई २ सय ५७ मिलियन डलर ऋण सहयोग: विद्युत वितरण र सिँचाइ सेवा सुधारमा विश्व बैंककाे लगानी

काठमाडाैं, १९ जेष्ठ । नेपालमा विद्युत वितरण प्रणाली सुदृढीकरण र कृषि उत्पादनमा वृद्धि गर्न सिँचाइ सेवा सुधारका लागि विश्व बैंकले २ सय ५७ मिलियन अमेरिकी डलर (करिब ३४ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।
मे २९ मा विश्व बैंकका कार्यकारी निर्देशक समितिले दुई वटा परियोजनाका लागि उक्त ऋण स्वीकृत गरेको हो। यी दुई परियोजना हुन् — ‘इलेक्ट्रिसिटी सप्लाई रिलायबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट’ र ‘रानी जमरा कुलरिया सिँचाइ परियोजना – तेस्रो चरण’।
विद्युत आपूर्ति सुधार परियोजना (१ सय २० मिलियन डलर)
नेपाल विद्युत प्राधिकरणमार्फत सञ्चालन हुने यो परियोजनाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत वितरण प्रणालीको स्तरोन्नति गर्नेछ। नयाँ वितरण सबस्टेशनको निर्माण, विद्यमान सञ्जालको स्तरोन्नति तथा वितरण सञ्जालको वास्तविक समय अनुगमन गर्न स्वचालित प्रणाली जडान गरिनेछ। यसले वितरणको विश्वसनीयता र कार्यसम्पादनमा सुधार ल्याउनेछ।
रानी जमरा कुलरिया सिँचाइ आधुनिकीकरण परियोजना – तेस्रो चरण (१ सय ३७ मिलियन डलर)
यो परियोजनाले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभर सिँचाइ सेवा विस्तार गर्दै कृषि उत्पादन वृद्धि र जलवायु सहनशीलता अभिवृद्धिमा सहयोग पुर्याउनेछ। नेपाल सरकारका जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागको सहकार्यमा १७ हजार ५ सय हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गरिनेछ, जसबाट करिब १ लाख ६० हजार जनाले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देश निर्देशक डेविड सिस्लेनले भने, “अबिरल विद्युत आपूर्ति र पर्याप्त सिँचाइ सेवा नेपालको दिगो विकासका आधार हुन्।” उनका अनुसार परियोजनाले जलविद्युतबाट उत्पादित स्वच्छ विद्युत प्रवर्द्धन र कृषकलाई जलवायु र विपद् जोखिमविरुद्ध टिकाउ बनाउने सेवा प्रदानमा ध्यान दिनेछ।