बजेटपछि सेयर बजारमा मिलेजुले संकेत : नेप्से २.७७ अंकले उकालो, होटल तथा पर्यटन क्षेत्र अगाडि

काठमाडाैं, १९ जेष्ठ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक भएपछि सेयर बजारमा मिलेजुले संकेत देखिएको छ। बजेट सार्वजनिकपछिको पहिलो कारोबार दिन नेप्से सूचक २.७७ अंकले बढेर २,६९५.८४ मा पुगेको छ। कुल २.२२ अर्ब रुपैयाँ बराबरको २ करोड २० लाख कित्ता सेयर कारोबार भएको छ।
त्यसअघि नेप्से सूचक १.६० अंकले बढेर २,६९४ मा पुगेको थियो। सो दिन कारोबार रकम ८ अर्ब ५८ करोड रुपैयाँबाट बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेको थियो।
कुल २४८ कम्पनीमध्ये ११५ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा १३३ कम्पनीका सेयर घटेका छन्।
बजेटमा होटल तथा पर्यटन क्षेत्रका लागि आयकर छुट र प्राथमिकता प्राप्त उद्योगमा लगानी प्रोत्साहनसम्बन्धी व्यवस्था गरिएकाले यस क्षेत्रका कम्पनीहरूमा सकारात्मक असर परेको देखिएको छ।
यस दिन होटल तथा पर्यटन क्षेत्र २.३९ प्रतिशत र लगानी क्षेत्र २.२८ प्रतिशतले अगाडि रहे।
विकास बैंक, फाइनान्स र जीवन बीमा क्षेत्रहरूमा सामान्य वृद्धि देखिएको छ।
तर, बैंकिङ, जलविद्युत्, उद्योग, लघुवित्त, गैर–जीवन बीमा, र व्यापार क्षेत्रका उपसूचकहरू भने ओरालो लागेका छन्।
ओम मेगाश्री फार्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीका सेयर मूल्यमा १० प्रतिशतको सर्किट लेवल वृद्धि देखिएको हो।
सप्तकोशी विकास बैंक, न्यादी जलविद्युत्, र कर्पाेरेट विकास बैंक का सेयरमा पनि उल्लेखनीय वृद्धि भएको छ।
तर, भूगोल ऊर्जा, बोटलर्स नेपाल बालाजु, र बिन नेपाल लघुवित्त का सेयरमा गिरावट आएको छ।