१० महिनामै जीवन बीमा व्यवसाय १५ प्रतिशतले बढ्यो, डेढ खर्ब नजिक पुग्यो बीमा शुल्क

काठमाडाैं, २० जेष्ठ । नेपालमा जीवन बीमा व्यवसाय तीव्र गतिमा अघि बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि बैशाखसम्मको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूले जम्मा १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा बीमा शुल्क १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ मात्र थियो।
समीक्षा अवधिमा कम्पनीहरूले २७ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याउन सफल भएका छन्। वैदेशिक रोजगार बीमा क्षेत्रबाट २ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरिएको छ भने नविकरण मार्फत १ अर्ब ९ करोड ४३ लाख १४ हजार रुपैयाँ आर्जन भएको छ। हाल देशभर १ करोड ३७ लाख २८ हजार ३४२ वटा जीवन बीमालेखहरू सक्रिय छन्, जसले बीमा क्षेत्रको पहुँच र प्रभावकारिता बढिरहेको संकेत गर्छ।
कम्पनीगत रूपमा हेर्दा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ। कम्पनीले १० महिनामा ३६ अर्ब ५९ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै आफ्नो व्यवसायमा १३ प्रतिशतको वृद्धि गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ आर्जन गरेको थियो।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब २० करोड १४ लाख रुपैयाँ आर्जन गर्दै २०.०२ प्रतिशत वृद्धि गरेको छ। तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १५ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै ९.४० प्रतिशतको वृद्धि गरेको छ। यस्तै, हिमालयन लाइफले १३ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ आर्जन गर्दै २.१० प्रतिशतले मात्र वृद्धि गरेको देखिन्छ।
सबैभन्दा तीव्र वृद्धि दर देखाउने कम्पनी भने राष्ट्रिय जीवन बीमा कम्पनी हो। यस कम्पनीले ५०.३६ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै ८ अर्ब ६७ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफले २३.९१ प्रतिशत वृद्धि गर्दै ४ अर्ब १४ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ।
अन्य बीमा कम्पनीहरूमध्ये सिटिजन लाइफले २०.८२ प्रतिशत वृद्धि गर्दै ५ अर्ब ६८ करोड ५ लाख, प्रभु महालक्ष्मी लाइफले २०.०९ प्रतिशतले बढाएर ४ अर्ब १० करोड २१ लाख, सूर्यज्योति लाइफले १७.२७ प्रतिशत वृद्धि गर्दै ८ अर्ब ५३ करोड ३ लाख रुपैयाँ आर्जन गरेका छन्। यस्तै, आइएमई लाइफले १४.८० प्रतिशत, सानिमा रिलायन्सले १३.७१ प्रतिशत, एशियन लाइफले ११.७९ प्रतिशत, सन नेपाल लाइफले १०.७२ प्रतिशत, र मेट लाइफले ९ प्रतिशत वृद्धि गर्न सफल भएका छन्।