भ्रमण भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडाैं, २२ जेष्ठ । राष्ट्रिय सभाको एक बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ। भ्रमण भिसा प्रकरणमा देखिएको अनियमितता, भ्रष्टाचार र मानव तस्करीको आरोपसहित स्वतन्त्र छानबिनको बाटो खोल्न मन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने माग उठेको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद माया प्रसाद शर्माले बुधबारको बैठकमा बोल्दै गम्भीर प्रकृतिको रहेको भ्रमण भिसा प्रकरणमा संसदीय वा न्यायिक समिति गठन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखे। उनले भने, “यो विषयमा निष्पक्ष छानबिन गर्नका लागि गृहमन्त्रीले नै बाटो खुलाउनुपर्छ। त्यसका लागि उनले तुरुन्तै राजीनामा दिनुपर्छ।”
शर्माले भ्रमण भिसाका नाममा मानव तस्करी, अवैध कमाइ र सरकारी संयन्त्रको दुरुपयोगजस्ता विषयहरू उठाउँदै यसमा संलग्न सबैलाई कानुनी कठघरामा ल्याउन जरुरी रहेको बताए। उनले प्रधानमन्त्री र सरकारलाई तत्काल गम्भीर ध्यान दिन आग्रह गर्दै भने, “संसदको मर्यादा कायम राख्न, जनविश्वास पुनःस्थापित गर्न र राज्य संयन्त्रलाई जवाफदेही बनाउने सवालमा यस्तो संवेदनशील विषयको निष्पक्ष छानबिन अपरिहार्य छ।”
हालैका दिनमा भ्रमण भिसाका नाममा ठगी, दलाली र मानव तस्करीसम्बन्धी घटनाहरू सार्वजनिक भएका छन्। नेपालबाट गैरकानुनी रूपमा विदेश पठाउने गिरोह सक्रिय रहेको र त्यस्तो कार्यमा राज्य संयन्त्रका उच्च तहका व्यक्तिहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ।