Date

बुध, जेष्ठ २८, २०८२
Wed, June 11, 2025

नेपालको वैदेशिक व्यापारमा सुधार, निर्यात ७२ प्रतिशतले वृद्धि, व्यापार घाटा भने अझै बढ्दो

नेपालको वैदेशिक व्यापारमा सुधार, निर्यात ७२ प्रतिशतले वृद्धि, व्यापार घाटा भने अझै बढ्दो

काठमाडाैं, २७ जेष्ठ । नेपालको वैदेशिक व्यापारमा पछिल्लो समय उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार देशको निर्यातमा झन्डै ७२.७ प्रतिशत वृद्धि भएको छ भने आयातमा पनि १३.१ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार, गत साउनदेखि बैशाख मसान्तसम्मको अवधिमा नेपालले कुल २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार हो, जहाँ निर्यात ३.६ प्रतिशतले घटेको थियो।

निर्याततर्फ भारत, चीन र अन्य मुलुकतर्फको कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। भारततर्फको निर्यात १०४.७ प्रतिशत, चीनतर्फ ५.१ प्रतिशत र अन्य मुलुकतर्फ ४.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान र पिना जस्ता वस्तुहरूको निर्यात उल्लेखनीय रूपमा बढेको हो। तर, पाम तेल, जिंक शिट, तयारी पोशाक, जुश र अलैंचीको निर्यातमा भने गिरावट आएको छ।

आयातको पक्षमा पनि दोहोरो अंकको वृद्धि देखिएको छ। समीक्षावधिमा नेपालले कुल १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.१ प्रतिशतले बढी हो। चीन र अन्य देशबाटको आयातमा क्रमशः १५.१ प्रतिशत र २८.३ प्रतिशतको वृद्धि भएको छ भने भारतबाटको आयात ७.९ प्रतिशतले घटेको देखिन्छ।

आयातमा प्रमुख रूपमा भटमासको कच्चा तेल, चामल, खाने तेल, यातायात उपकरण, सवारीसाधन र स्पन्ज आइरनको मात्रा वृद्धि भएको छ। तर, पेट्रोलियम पदार्थ, सुन, विद्युत उपकरण, रासायनिक मल र कोइलाको आयातमा कमी आएको छ।

यद्यपि निर्यात र आयात दुवै वृद्धि भए पनि व्यापार घाटा अझै बढ्दो छ। समीक्षावधिमा व्यापार घाटा ६.७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा २.३ प्रतिशतले घटेको थियो।

निर्यात–आयात अनुपातमा भने सुधार आएको देखिन्छ। अघिल्लो वर्षको अनुपात ९.७ प्रतिशत रहँदा हाल यो अनुपात १४.८ प्रतिशतमा पुगेको छ। साथै, भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको राष्ट्र बैंकले जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १२२ अर्ब २ करोड रुपैयाँ बराबरको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *