गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाको पुनः उडान: बैंकक–भैरहवा मार्गमा व्यावसायिक सेवा कात्तिक ९ देखि सुरु

काठमाडाैं, २९ जेष्ठ । लामो प्रतीक्षापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले पुनः व्यावसायिक उडान सुरु गर्ने भएको छ। कम्पनीले आगामी कात्तिक ९ गते (अक्टोबर २५) बाट बैंकक–भैरहवा दुईतर्फी उडान सञ्चालन गर्ने घोषणा गरेको हो।
गत चैत दोस्रो सातादेखि यात्रुको कमीका कारण उडान स्थगन गरेको थाइ एयर एसियाले यसपटक नियमित रूपमा चैतसम्म व्यावसायिक उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सको नेपालस्थित आधिकारिक जनरल सेल्स एजेन्ट (GSA) युनिभर्सल टुर एण्ड ट्राभल्सले टिकट बुकिङ खुला गरिसकेको जानकारी दिएको छ।
कम्पनीका एक प्रतिनिधिका अनुसार, “हामीले अघिल्लो चरणमा पनि बैंकक–भैरहवा उडान गरेका थियौं, तर यात्रु संख्या घटेपछि अस्थायी रूपमा स्थगन गर्नुपर्यो। अब यात्रु चाप फेरि बढ्ने अपेक्षासहित कात्तिकदेखि उडान पुनः सुरु गर्न लागिएको हो।”
यात्रुहरूका लागि बैंकक–भैरहवा–बैंकक दुईतर्फी उडानको करिब २४,००० रुपैयाँ भाडादर तोकिएको छ। नियमित उडानले विशेष गरी लुम्बिनी क्षेत्रको पर्यटकीय र व्यापारिक गतिविधिलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान न्यून भएको आलोचनाबीच थाइ एयर एसियाको पुनः आगमनलाई सकारात्मक संकेतको रूपमा लिइएको छ।