Date

शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

माडीको धनलक्ष्मी झरना पर्यटनको केन्द्र बन्ने तयारीमा : वन, जलप्रपात र धार्मिक सम्पदासहित एकीकृत विकास योजना अघि बढ्दै

माडीको धनलक्ष्मी झरना पर्यटनको केन्द्र बन्ने तयारीमा : वन, जलप्रपात र धार्मिक सम्पदासहित एकीकृत विकास योजना अघि बढ्दै

काठमाडाैं, २९ जेष्ठ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाले भरिएको चितवनको माडी उपत्यका अब धनलक्ष्मी झरना र वैकुण्ठधाम क्षेत्रको एकीकृत विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्ने दिशातर्फ अग्रसर भएको छ।

६० मिटर अग्लो झरना, आधा घण्टाको ट्रेकिङ र धार्मिक आस्थाको संगम भएको यस क्षेत्रको प्रचार–प्रसार भने अझै व्यापक रूपमा हुन सकेको छैन। वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिको अगुवाइमा अहिले झरनासम्म पुग्ने सिमेन्टको सिँढी निर्माण कार्य भइरहेको छ। समितिका अध्यक्ष राजकुमार परियारका अनुसार निर्माण कार्य हाल ५० प्रतिशत पूरा भइसकेको छ र आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्ने लक्ष्य छ। तर, बजेटको अभावका कारण काममा ढिलाइ भइरहेको उनले बताए।

झरना पुग्नका लागि माडी–ठोरी हुलाक मार्गअन्तर्गत खरकट्टा दक्षिणतर्फ पर्ने वन क्षेत्र हुँदै तीन किलोमिटर गाडीमा जान मिल्ने सडक छ। त्यसपछि करिब २० मिनेट पैदल हिँडेर वैकुण्ठ ताल पुगिन्छ, र त्यहाँबाट डेढ घण्टाको पैदल यात्रापछि झरनामा पुग्न सकिन्छ।

झरनाको नाम हिन्दू सम्पदाकी धन र समृद्धिकी देवी लक्ष्मीको नाममा राखिएको हो, जसअनुसार यहाँ आएर आस्था प्रकट गर्नेको धनसम्बन्धी मनोकामना पुरा हुने विश्वास गरिएको छ। यही कारणले झरना धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

पूर्व वडासदस्य कृष्ण अधिकारीका अनुसार माडी क्षेत्रको बासोबास वि.सं. २०२० देखि २०२२ को बीचमा शुरु भएको थियो। त्यसयता यहाँ बलाचतुर्दशी मेलामा सतबीज छर्ने परम्परा सुरु भयो, जसले अहिले माडी मात्र नभई चितवन र भारतको सीमा क्षेत्रसम्मका श्रद्धालुहरूलाई आकर्षित गर्न थालेको छ।

धनलक्ष्मी झरना, वैकुण्ठ ताल, कैलाश डाँडा, प्रेमदह, मनमोह चट्टान, दुइखोला दोभान, चमेरो गुफा, आरन्य बौद्ध गुम्बा लगायतका स्थानहरू धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण छन्। यिनै सम्पदाले माडीलाई धार्मिक–पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न थालेको अधिकारीको भनाइ छ।

पर्यटन प्रवर्द्धनका लागि समुदायसँग जोडिने उद्देश्यले कान्तिपुर सामूहिक कृषि परियोजना, फार्म स्टे, र अयोध्या मार्ग जस्ता योजनाले पनि क्षेत्रको आकर्षण बढाएको छ।

उपप्रमुख खेमप्रसाद महतोका अनुसार वैकुण्ठधाम क्षेत्रको एकीकृत विकास योजना तयार पारेर धनलक्ष्मी झरनासम्म पर्यटक पुर्‍याउने कार्य अघि बढाइएको छ। “यो झरना जंगलको बीचमा भएकाले धेरैलाई थाहा छैन। आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सके यसले भविष्यमा पर्यटनको नयाँ सम्भावना खोल्नेछ,” उनले भने।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *