२० अर्बभन्दा बढी रकम गायब भएको भन्ने भ्रामक समाचारप्रति नेपाल बैंकको कडा खण्डन

काठमाडाैं, २९ जेष्ठ । नेपाल बैंक लिमिटेडले आ.व. २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी केही सञ्चारमाध्यमहरूद्वारा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै सो समाचारलाई पूर्ण रूपमा भ्रामक, झुटो र तथ्यहीन भएको बताएको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित नेपालका विद्यमान कानुनअनुसार बैंकले आफ्ना सम्पूर्ण वित्तीय कार्यहरू पारदर्शी तरिकाले सञ्चालन गर्दै आएको र आवश्यक सम्पूर्ण विवरण नियामक निकायहरूलाई नियमित रूपमा जानकारी गराउँदै आएको स्पष्ट गरिएको छ।
नेपाल बैंकका अनुसार बैंकका त्रैमासिक तथा वार्षिक लेखापरीक्षण गरिएका वित्तीय विवरणहरूसमेत सार्वजनिक रूपमा उपलब्ध गराउँदै आएको हुँदा यस्ता तथ्यहीन समाचारहरूमा सर्वसाधारणलाई विश्वास नगर्न अनुरोध गरिएको छ।
बैंकले थप स्पष्ट पारेको छ कि नेपाल बैंक लिमिटेड वित्तीय रूपमा पूर्ण रूपमा सुदृढ छ र नियामक निकायहरूको नीति तथा निर्देशनको पूर्ण पालना गर्नेमा प्रतिबद्ध रहँदै आएको छ।