Date

शनि, जेष्ठ ३१, २०८२
Sat, June 14, 2025

भिजिट भिसा प्रकरणमा संसदीय समिति बैठक तनावग्रस्त, छानबिनको माग गर्दै विवाद

भिजिट भिसा प्रकरणमा संसदीय समिति बैठक तनावग्रस्त, छानबिनको माग गर्दै विवाद

काठमाडाैं, ३० जेष्ठ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित सम्बन्ध समिति शुक्रबार बसेको बैठक भिजिट भिसा काण्डको विषयमा तीव्र विवादबीच निष्कर्षविहीनरूपमा सकिएको छ। बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप चलेपछि वातावरण तनावग्रस्त बनेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले बैठकमा बोल्दै नेपाली नागरिकलाई भ्रमण भिसामा विदेश पठाएर मानव तस्करी गर्ने गिरोहसँग राज्यका अंगहरूको साँठगाँठ रहेको आरोप लगाए। उनले सो प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरे। साथै, अन्य सांसदहरू पार्टीको दबाबमा चुप बसेको आरोप पनि लगाउँदै गृहमन्त्री र श्रममन्त्रीलाई समितिमा बोलाउनु पर्ने माग राखे।

पराजुलीको भनाइप्रति सत्तारूढ दलका सांसदहरूले कडा आपत्ति जनाए। नेपाली कांग्रेसका सांसद राजु थापाले विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा पुगिसकेको भन्दै समितिको कार्यक्षेत्र बाहिर रहेको तर्क गरे। साथै, पराजुलीले सांसदहरूलाई ‘निश्क्रिय र लाचार’ भनेको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरे।

सीपीएन (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले रास्वपाले मानव तस्करीविरुद्धको अभियानमा मात्रै अधिकार जताउनु नहुने भन्दै पराजुलीको भनाइप्रति कडा असन्तुष्टि जनाए।

बैठकको अध्यक्षता गरेका समितिका सभापति अब्दुल खानले परिस्थितिलाई शान्त बनाउने प्रयास गर्दै अलग समिति गठन गर्ने प्रस्ताव राखे। तर, सांसद पराजुलीले त्यो प्रस्तावको विरोध गर्दै भिजिट भिसा प्रकरणमै केन्द्रीत भएर कार्य गर्नुपर्ने माग दोहोर्याए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *