असार महिनामा पनि घट्यो बैंकको ब्याजदर, औसत दर ५.९०२ प्रतिशतमा झर्यो

काठमाडाैं, १ असार । वाणिज्य बैंकहरूले असार महिनाका लागि निक्षेपमा दिइने ब्याजदर पुनः घटाएका छन्। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार, असार महिनामा बैंकहरूको औसत ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटेर ५.९०२ प्रतिशतमा झरेको छ। यसअघि जेठ महिनामा औसत ब्याजदर ५.९५२ प्रतिशत थियो।
हालको महिनामा अधिकांश बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तर, पाँच वटा बैंकहरू — एभरेष्ट, कृषि विकास, एनएमबि, कुमारी र एनआईसी एशिया बैंक — ले असार महिनाका लागि ब्याजदर घटाएका छन्। यी बैंकहरूले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने ब्याजदर केही अंकले घटाएका हुन्।
एभरेष्ट बैंकले असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ६.५५ प्रतिशत र संस्थागत निक्षेपमा ५.६४ प्रतिशत ब्याज दिने जनाएको छ। यसअघि जेठमा उक्त दर क्रमशः ६.६४ प्रतिशत र ५.६५ प्रतिशत थियो। कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ५.४५ प्रतिशत र संस्थागत निक्षेपमा ४.४५ प्रतिशत ब्याज दिनेछ। कुमारी बैंकले व्यक्तिगत तर्फ ५.७१ प्रतिशत र संस्थागत तर्फ ४.५१ प्रतिशत ब्याज तोकेको छ। यस्तै, एनएमबि बैंकले व्यक्तिगतमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत, र एनआईसी एशिया बैंकले व्यक्तिगतमा ६.५५ प्रतिशत र संस्थागतमा ५.५५ प्रतिशत ब्याज दिने जनाएको छ।
यी बैंकहरू बाहेक अन्य वाणिज्य बैंकहरूले भने असार महिनामा ब्याजदर परिवर्तन नगरी जेठ महिनाकै दरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५५ प्रतिशत र संस्थागत निक्षेपमा ४ प्रतिशत ब्याज दिनेछ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले व्यक्तिगतमा समान ५.५ प्रतिशत ब्याज दिने छन् भने संस्थागतमा क्रमशः ४.५, ४ र ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यस्तैगरी, सिद्धार्थ, लक्ष्मी सनराइज र नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ५.७५ प्रतिशत ब्याज दिनेछन् भने संस्थागत निक्षेपमा क्रमशः ४.७५, ४.५ र ४.०५ प्रतिशत ब्याज दिने घोषणा गरेका छन्। ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा समान ६ प्रतिशत ब्याज दिने भएका छन्। संस्थागत निक्षेपमा भने उनीहरूले क्रमशः ४.२५, ४ र ४ प्रतिशत ब्याज तोकेको छ।
अन्य बैंकहरू जस्तै प्रभू बैंकले व्यक्तिगत तर्फ ६.१ प्रतिशत, प्राइम बैंकले ६.२५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत र सानिमा बैंकले ६.३३ प्रतिशत ब्याजदर कायम गरेका छन्। यी बैंकहरूले संस्थागत निक्षेपमा क्रमशः ५, ३.३५, ३ र ४.५ प्रतिशत ब्याज दिने भएका छन्।