सभामुख घिमिरेद्वारा आरएसपी र आरपीपी नेतासँग छुट्टाछुट्टै भेटवार्ता, संसद् सञ्चालनमा सहकार्यको आग्रह

काठमाडाैं, १ असार । प्रतिनिधि सभा अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) का कार्यवाहक अध्यक्ष दीपकप्रकाश अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (आरपीपी) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
आइतबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले कार्यवाहक अध्यक्ष अर्यालसँग भेट गरी संसद्को मर्यादा कायम राख्न सहयोग गर्न आग्रह गरेका थिए। उनले हाल संसद् अवरुद्ध भई बजेटमाथिको छलफल प्रभावित भएको उल्लेख गर्दै विरोधको स्वरूप परिवर्तन गर्न आग्रह गरेका हुन्।
सभामुखले संविधानले तोकेको सीमाभित्र रहेर विरोध अभिव्यक्त गर्नु आवश्यक रहेको र बजेटमाथि समयमै छलफल प्रारम्भ गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। जवाफमा कार्यवाहक अध्यक्ष अर्यालले संसद्को गरिमा कायम राख्ने पार्टीको प्रतिबद्धता दोहोर्याउँदै अवरोध भने जारी रहने स्पष्ट पारेका थिए।
यसअघि आइतबार बिहानै प्रमुख सचेतकहरूले शुक्रबारको संसद् बैठकमा देखिएको अवाञ्छित व्यवहारप्रति सभामुखको ध्यानाकर्षण गराएका थिए। प्रमुख सचेतकहरूले मर्यादित तरिकाले विरोध गर्न सबै दललाई आग्रह गर्नुपर्ने बताएका थिए।
त्यसैगरी, सभामुख घिमिरेले आरपीपी अध्यक्ष लिङ्देनसँग टेलिफोन संवाद गर्दै संसद् सञ्चालनका लागि सहकार्य गर्न आग्रह गरेका छन्। उनले संसद्मा उठाउनु पर्ने विषयहरू विधिसम्मत ढंगले उठाउन सुझाव दिँदै, नियमित प्रक्रिया अवलम्बन गरी संसद् सञ्चालनमा सहजीकरण गर्न अपिल गरेका थिए।
संसद्मा जारी अवरोधका कारण बजेटमाथिको विस्तृत छलफल सुरु हुन सकेको छैन।