शेयर बजारमा गिरावट जारी, नेप्से सामान्य घट्दा कारोबार रकममा भने वृद्धि

काठमाडाैं, ४ असार । शेयर बजारमा गिरावटको क्रम आज पनि जारी रह्यो। हिजो ३.९० अंकले घटेको नेप्से परिसूचक आज १.२८ अंकले घटेर २६५३.४७ विन्दुमा रोकिएको छ।
यद्यपि, परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। आज ३१४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँको कारोबार भयो। हिजो ३०६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको थियो। बजार घटेको दिन पनि केही कम्पनीका शेयर मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ। प्योर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जहाँ कम्पनीको शेयर भाउ १० प्रतिशत अर्थात् १०९.७० रुपैयाँ बढेर १ हजार २०७.२० रुपैयाँ पुगेको छ।
यसैगरी, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। जोशी हाइड्रोपावरको शेयर भाउ ९.९० प्रतिशत अर्थात् ४०.६२ रुपैयाँ बढेर ४५०.७३ रुपैयाँ कायम भएको छ भने युनियन हाइड्रोपावरको ९.२२ प्रतिशत वृद्धि भई ४५१.५० रुपैयाँ पुगेको छ। आज ८८ वटा कम्पनीको शेयर भाउ वृद्धि भएको छ, जसमा सिंगटी हाइड्रो इनर्जी ८.०९ प्रतिशत, पञ्चकन्या माइको ८.०५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ७.९० प्रतिशत र रसुवागढीको ७.४८ प्रतिशत वृद्धि भएको छ। अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ, जहाँ कम्पनीको शेयर भाउ १० प्रतिशत अर्थात् २६७.७२ रुपैयाँ घटेर २ हजार ४०९.९० रुपैयाँमा झरेको छ। साताको चौथो कारोबार दिन सप्तकोशी डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, सामुदायिक लघुवित्त लगायत १५९ वटा कम्पनीको शेयर भाउ घटेको छ।