Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आर्थिक वर्षको अन्तमा भुक्तानी सन्तुलनमा झिनो सुधार, ७५५ अर्ब रेमिट्यान्स भित्रियो

आर्थिक वर्षको अन्तमा भुक्तानी सन्तुलनमा झिनो सुधार, ७५५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौ, ५ भदौ । गत आर्थिक वर्षको अन्तमा भुक्तानी सन्तुलनको अवस्थामा झिनो सुधार आएको छ । आर्थिक वर्ष २०७४–७५ मा ९६ करोड रुपैँया भुक्तानी सन्तुलन बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सो भन्दा अघिल्लो वर्ष भुक्तानी सन्तुलन ८२ अर्ब ११ करोड रुपैँयाले बचतमा रहेको थियो । उच्च आयात, रेमिट्यान्स आप्रवाहमा खासै सुधार हुन नसक्नु र प्रत्यक्ष वैदेशिक लगानीको स्थिति कमजोर हुँदा भुक्तानी सन्तुलनको अवस्था कमजोर देखिएको हो । गत आर्थिक वर्षमा चालु खाता घाटा अत्याधिक बढेर २४५ अर्ब रुपैँया पुगेको छ, जुन मुलुकको कुल गार्हस्थ उत्पादनको ८.२ प्रतिशत हुनआउँछ ।
अघिल्लो आर्थिक वर्षमा आयात २५ दशमलव ५ प्रतिशतले वृद्धि भई १२ खर्ब ४२ अर्ब ८३ करोड रुपैँया पुगेको छ भने निर्यात ८१ अर्ब १९ करोड रुपैँया रहेको छ । आयात र निर्यातको खाडल थप विस्तार हुँदा व्यापार घाटा २६ दशमलव ७ प्रतिशतले विस्तार भई ११ खर्ब ६१ अर्ब रुपैँया पुगेको छ । वस्तु व्यापारमा ठूलो घाटा रहे पनि सेवा व्यापारतर्फ २ अर्ब रुपैँया नाफा भएको छ । तर सेवा व्यापारतर्फको नाफा भने संकुचित हुँदै गएको छ ।
गत वर्षमा रहेको मुलुकसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ । विदेशी विनिमय सञ्चिति ८ महिनाको वस्तु तथा आयात धान्न पुग्नेभन्दा कम भए खतराको घण्टी बजेको भनेर बुझ्नुपर्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ७५५ अर्ब रुपैँया रेमिट्यान्स भित्रिएको छ भने १७ अर्ब ५१ करोड रुपैँया प्रत्यक्ष वैदेशिक लगानी आएको छ । खासगरी गत आर्थिक वर्षको अन्तिमतिर अमेरिकी डलर मजबुत हुँदा विप्रेषण पठाउने क्रम बढेको छ, अर्कोतर्फ अमेरिकी डलरको तुलनामा नेपाली रुपैँयाको तीव्र अवमूल्यनले नेपाली रुपैँयामा रेमिट्यान्सको वृद्धिदर पनि केही बढेको छ ।
गत आर्थिकवर्षको अन्तिम महिनामा उपभोक्ता मुद्रास्फिति ४ दशमलव ६ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षको औसत मुद्रा स्फिति ४ दशमलव २ प्रतिशत रह्यो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७५–७६ मा गत आर्थिक वर्षहरुमा जस्तै उच्च आर्थिक वृद्धिदर कायम हुने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x