फेरि उडान तर अझै अधूरो सपना: भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान फेरि सुरु, पूर्वाधार अभाव उस्तै

काठमाडाैं, ३१ असार । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एअरएशियाले आगामी कात्तिक ९ गते (अक्टोबर २६) देखि पुनः बैंकक–भैरहवा–बैंकक उडान सुरु गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले यसका लागि कम्पनीलाई जाडो यामको तालिका स्वीकृति दिएको छ। उडान हप्ता दुई दिन, आइतबार र बुधबार सञ्चालन हुने जनाइएको छ।
थाई एअरएशियाले गत वर्ष कात्तिक १८ गते (नोभेम्बर ३, २०२४) बाट भैरहवाबाट व्यावसायिक उडान सुरु गरे पनि केही समयपछि सेवा स्थगित गरेको थियो। हाल नियमित अन्तर्राष्ट्रिय उडान नभए पनि गौतम बुद्ध विमानस्थलबाट चार्टर्ड उडान भने यदाकदा भइरहेको छ।
यद्यपि, सरकारले अन्तर्राष्ट्रिय उडान प्रोत्साहनका लागि विभिन्न घोषणा गरे पनि नेपाल एयरलाइन्ससहितका विमान कम्पनीहरू फेरि काठमाडौं केन्द्रित भएका छन्। मेडिकल परीक्षण, श्रम स्वीकृति र भिसा प्रक्रिया सम्बन्धी कार्यालयहरू भैरहवामा अझै नखोलिएको अवस्थामा अन्तर्राष्ट्रिय यात्रु सेवा सहज नभएकाले नियमित उडानका लागि चुनौती रहिरहेको छ।