Date

बुध, असार ३२, २०८२
Wed, July 16, 2025

कृषि तथा वन विश्वविद्यालयको १ अर्ब ६८ करोडको बजेट स्वीकृत, शिक्षाको गुणस्तर र अनुसन्धानमा जोड

कृषि तथा वन विश्वविद्यालयको १ अर्ब ६८ करोडको बजेट स्वीकृत, शिक्षाको गुणस्तर र अनुसन्धानमा जोड

काठमाडाैं, ३२ असार । चितवनस्थित कृषि तथा वन विश्वविद्यालयको १४औँ सिनेट (परिषद्) बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ (2025/26) का लागि १ अर्ब ६८ करोड रुपैयाँको बजेट पारित गरेको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको बैठकले उक्त बजेट र वार्षिक कार्ययोजना स्वीकृत गरेको हो।

बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. पुष्कर बहादुर पालले बजेट तथा कार्यक्रम प्रस्तुति गर्दै सिनेटबाट स्वीकृतिको माग गरेका थिए। उनले आगामी वर्षका लागि शिक्षण–शिक्षणको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, परीक्षा प्रणालीको सुधार तथा व्यवसायिक इनक्युबेसन केन्द्र स्थापनालगायतका कार्यक्रमहरू प्राथमिकतामा रहेको जानकारी गराएका थिए।

बैठकमा विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थापालीयाले शिक्षामा गुणस्तर कायम गर्न विश्वविद्यालयले चालेका कदमहरूबारे जानकारी दिँदै अनुसन्धान, शिक्षण विधि, परीक्षा प्रणाली र नवप्रवर्तनमा केन्द्रित संस्थागत प्रयासहरूलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाइन्।

प्रधानमन्त्री ओलीले हालै सबै विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरूलाई छोटो समयमै सिनेट बैठक बोलाई प्रस्तावित बजेट तथा कार्यक्रम नयाँ आर्थिक वर्ष सुरु हुनु अघि अर्थात् असार ३२ (जुलाई १६) भित्रै पारित गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार आज मात्रै चार वटा विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूको सिनेट बैठक सम्पन्न भएका छन् भने दुईवटा बैठक आउँदो बुधबारका लागि तय गरिएका छन्।

कृषि तथा वन विश्वविद्यालयको पारित बजेटले भविष्यमा शिक्षण, अनुसन्धान तथा व्यावसायिक पूर्वाधार विस्तारमा योगदान पुग्ने विश्वास गरिएको छ। बजेटमार्फत स्रोत परिचालन, नवीकरणीय ऊर्जा प्रवर्द्धन, स्मार्ट कृषि प्रविधि र विद्यार्थी नवप्रवर्तन केन्द्रहरूलाई समेत प्राथमिकता दिइने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *