विदेशी लगानीमा पर्यटनको दबदबा, खनिज क्षेत्र भने शून्य: ६५ अर्ब रुपैयाँ बराबरको प्रस्ताव, रोजगारीमा १९ हजार बढी नेपाली लाभान्वित

काठमाडाैं, २ साउन । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म नेपालले करिब ६५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, असार मसान्तसम्म स्वीकृत प्रणालीमार्फत कुल ८४० परियोजनाबाट ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव दर्ता भएको हो।
यीमध्ये ३८९ उद्योगका लागि ६० अर्ब ३५ करोड रुपैयाँको प्रस्ताव स्वीकृत भएको छ भने बाँकी ४५१ उद्योगका लागि ४ अर्ब ६१ करोड रुपैयाँको लगानी प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ।
प्रविधि ट्रान्सफरदेखि एसपीए-एसएसएसम्म
यस अवधिमा ३८ परियोजनामार्फत शेयर पर्चेज एग्रीमेन्ट (SPA) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (SSA) अन्तर्गत २ अर्ब ६६ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ। साथै, ७० वटा टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (TTA) पनि स्वीकृत गरिएको विभागले उल्लेख गरेको छ।
पर्यटनमा सबैभन्दा बढी लगानी
क्षेत्रगत विवरण हेर्दा पर्यटन क्षेत्रमा मात्र २६ अर्ब ८२ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ, जुन कुल लगानीको सबैभन्दा ठूलो हिस्सा हो।
त्यसपछि सेवा क्षेत्रमा ३० अर्ब ९० करोड,
सूचना प्रविधिमा १ अर्ब ८५ करोड (३८२ परियोजना),
उत्पादन क्षेत्रमा ३ अर्ब ८४ करोड (५५ परियोजना),
कृषिमा १ अर्ब ४६ करोड (१२ परियोजना)
र पूर्वाधार क्षेत्रमा मात्र ५ करोड रुपैयाँ (२ परियोजना)को लगानी प्रस्ताव गरिएको छ।
तर, खनिज क्षेत्रमा भने कुनै लगानी प्रस्ताव आएको छैन, जुन चिन्ताजनक पक्षको रूपमा विभागले औंल्याएको छ।
साना उद्योगको बाहुल्यता, ठूला उद्योग न्यून
उद्योगको दर्ता संरचना हेर्दा, कुल उद्योगमध्ये ८२४ वटा साना उद्योग छन्, मझौला १०, र ठूला उद्योग केवल ६ वटा मात्र रहेका छन्। यी उद्योगहरूबाट १९ हजार ५३६ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
लाभांश र रोयल्टीमार्फत नाफा निकासी
वर्तमान वर्षमा विदेशी लगानीकर्ताहरूले ९ अर्ब ६१ करोड रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन्।
त्यस्तै १ अर्ब ८४ करोड रुपैयाँ रोयल्टी,
९९ लाख अमेरिकी डलर,
८७ करोड भारतीय रुपैयाँ,
र केही युरो समेत निकासी गरिएको उद्योग विभागको प्रतिवेदनमा उल्लेख छ।