नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा जेइको जे ५ सार्वजनिक

काठमाडाैं, ७ साउन । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे ५ सार्वजनिक हुने भएको छ। चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नयाँ एसयूभी जे ५ नेपाल पठाएको हो, जसको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल हुनेछ। यस एक्सपोबाट बिक्री सुरु गर्ने योजना पनि रहेको छ।
यस मोडललाई पहिलोपटक इन्डोनेसिया इन्टरनेशनल मोटर शो २०२५ मा प्रोटोटाइपको रूपमा प्रस्तुत गरिएको थियो, भने यसको सम्पूर्ण विनिर्देशनसहित सार्वजनिक डेब्यु अटो शाङ्घाइ २०२५ मा गरिएको हो।
पूर्ण विद्युतचालित यस जे ५ ईभी मा परम्परागत ग्रिलको सट्टा पारदर्शी प्यानल र ‘जेइको’ को लोगो राखिएको छ। गाडीको स्लिक हेडलाइट र मिनिमल बम्परले यसलाई आधुनिक लुक दिएका छन्। यस गाडीको डिजाइन रेञ्ज रोभर इभोकबाट प्रभावित देखिन्छ, जसमा क्लामशेल हुड, सम्पूर्ण चौडाइ ओगट्ने टेललाइट, र पछाडिको स्पोइलर जस्ता विशेषताहरू छन्।
जे ५ ईभी मा ६०.९ किलोवाट घण्टाको ब्याट्री जडान गरिएको छ, जसले १५५ किलोवाट (२०७ अश्वशक्ति) शक्ति र २८८ न्यूटन मिटर टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटरसँग मिलेर काम गर्छ। यो गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति पुग्न ७.७ सेकेन्ड मात्र लिन्छ।
डब्लुएलटिसी परीक्षण अनुसार यसले ४०० किलोमिटरसम्म र एनइडिसी मापदण्डअनुसार ४७० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। ब्याट्रीमा छिटो चार्ज सुविधा पनि उपलब्ध छ, जसअन्तर्गत ३० प्रतिशतदेखि ८० प्रतिशत चार्ज हुन २७ मिनेट मात्र लाग्छ। नेपाली बजारमा जेइको जे ५को मूल्य ६० लाख रुपैयाँभन्दा कम पर्ने अपेक्षा गरिएको छ।