नेपाल लाइफलाई ‘आइक्यान सिल्भर’ : जीवन बीमामा पहिलोपटक इतिहास

काठमाडाैं, ७ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा पहिलोपटक ‘आइक्यान सिल्भर अवार्ड’ प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हात पारेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले प्रदान गर्ने National Best Presented Annual Report Award (NBPA) 2024 अन्तर्गत जीवन बीमा समूहमा नेपाल लाइफलाई सिल्भर अवार्ड प्रदान गरिएको हो।
आर्थिक वर्ष २०८०/८१ को उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेको आधारमा यो अवार्ड प्रदान गरिएको हो। ICAN ले राजधानीको होटल र्याडिसनमा आयोजित विशेष कार्यक्रममा सम्मान प्रदान गरेको थियो। अवार्ड नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल ले संयुक्त रूपमा महालेखापरीक्षक तोयम रायाबाट ग्रहण गरेका थिए।
नेपाल लाइफ यो अवार्ड पाउने पहिलो जीवन बीमा कम्पनी बनेको छ। अवार्डले कम्पनीले वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन, तथा अन्तर्राष्ट्रिय मापदण्डमा आधारित वित्तीय प्रतिवेदन तयार गरेको प्रमाणित गरेको छ।
कार्यक्रममा सीईओ पराजुलीले यो सम्मान कम्पनीका सम्पूर्ण सरोकारवालाको साथ र समर्थनले सम्भव भएको बताउँदै आगामी दिनमा अझ सशक्त पारदर्शिता र सेवा सुधारतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले हाल नेपाली जीवन बीमा बजारको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ। उनले बीमित, अभिकर्ता, कर्मचारी, सञ्चालक, शेयरधनी, नियामक निकाय तथा सबै सहयोगी पक्षलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीले आफ्नो २५ औं वर्षगाँठलाई यो सम्मानले थप गौरव दिलाएको उल्लेख गरे।