पाँच वर्ष निष्क्रिय सेयर खाता अब स्वतः बन्द हुने, सेबोनको कडाइ

काठमाडाैं, ७ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच वर्षसम्म नवीकरण नगरिएका वा कारोबार नभएका सेयर खाताहरू अब स्थगन वा बन्द गर्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रममार्फत निष्क्रिय खाता व्यवस्थापनलाई थप कडाइ गर्ने प्रावधान ल्याइएको हो।
बोर्डले निष्क्रिय खाताको व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउन यो निर्णय लिएको हो। यस अन्तर्गत यदि खाता बन्द गर्दा नवीकरण शुल्क असुल गर्न नसकिने अवस्थामा छुट दिइने छ भने, शुल्क असुल भइसकेको भएमा त्यो रकम सिधै CDSC (सीडीएस एन्ड क्लियरिङ) मा जम्मा गरिने व्यवस्था लागू हुनेछ।
सेबोनले CDSC लाई वर्तमान नियमहरू परिमार्जन गरी नयाँ विनियम संशोधन प्रस्ताव पेश गर्न निर्देशन दिइसकेको छ।
यसबाट सेयर बजारमा निष्क्रियता घट्ने, सूचना प्रवाह सुधारिने, र लगानीकर्ताहरूमा चेतना वृद्धि हुने अपेक्षा गरिएको छ।