सवारी साधनको महोत्सव, ‘नाइमा मोबिलिटी एक्स्पो’ साउन २१ देखि

काठमाडाैं, १३ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले साउन २१ गतेदेखि भृकुटीमण्डप, काठमाडौंमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्न लागेको छ। यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र नवीन सवारी प्रदर्शनीको रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमार्फत नाइमाले दिएको जानकारीअनुसार ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले सहभागिता जनाउनेछन् भने ३५ नयाँ मोडल सवारीसाधन पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिनेछ। दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधन गरि जम्मा ३५ मोडल प्रदर्शन हुनेछन्, जसमा विद्युतीय प्रविधिमा आधारित सवारीसाधनको संख्या उल्लेख्य रहनेछ।
चिनियाँ ब्रान्ड जाइकोले आफ्नो जे ५ ईभी र जे ७ मोडल सार्वजनिक गर्नेछ। जे ५ ईभी मा ६०.९ किलोवाट आवर ब्याट्री, १५५ किलोवाट मोटर र ४७० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। बिवाइडीको ‘सिल लायन ७’, चेरीको आइकार भी २३, महिन्द्राको बी–६ र एक्सयुभी. ई ९, कियाको ईभी–५, र प्रोटोनको ‘ईमास ७’ जस्ता नयाँ विद्युतीय सवारीहरू पनि यसै अवसरमा सार्वजनिक हुनेछन्।
दुईपांग्रे सवारीतर्फ, एथर इनर्जी, एम्पेयर, एनआईयू, गोगोरो, याडेया, रिभोल्ट, अल्ट्राभायोलेट लगायतका ब्रान्डहरूले नेपालमा पहिलोपटक आफ्ना विद्युतीय स्कूटर तथा मोटरसाइकल सार्वजनिक गर्नेछन्। साथै, होन्डा, बजाज, केटीएम, टिभीएस, रोयल एनफिल्ड लगायत पेट्रोल इन्जिनमा आधारित मोडलहरू पनि प्रदर्शन गरिनेछ।
व्यावसायिक सवारीतर्फ ट्रक, भ्यान, मिनीबस, बसलगायतका मोडलहरू चेरी वान्डा, डोङफेङ, सनलङ, स्काइवर्थ, किङ लङ, कामा, फ्यारिजोन लगायतका चिनियाँ ब्रान्डहरूले सार्वजनिक गर्नेछन्। ती सवारीसाधनहरू मुख्यतया सार्वजनिक यातायात, लजिस्टिक सेवा तथा डेलिभरी सेवा प्रयोजनका लागि लक्षित हुनेछन्।
पर्यावरणमैत्री प्रविधिमा आधारित स्मार्ट फिचरयुक्त सवारीसाधन, एड्भेन्चर मोटरसाइकलदेखि स्मार्ट कनिक्टेड स्कूटर, अफ–रोड गाडी, र व्यावसायिक प्रयोजनका ट्रक–भ्यानसम्मका नयाँ मोडलहरूको अवलोकन र अनुभव गर्न इच्छुक दर्शकका लागि यो एक्स्पो एक दुर्लभ अवसर हुने आयोजकले बताएको छ।
नाइमा मोबिलिटी एक्स्पो–२०२५ ले नेपालको विद्युतीय सवारी बजारमा नयाँ युगको सुरुवात गराउने संकेत दिएको छ। यसमा सार्वजनिक हुने मोडलहरूको प्रि–बुकिङ, विशेष अफर तथा टेस्ट राइडको सुविधा समेत उपलब्ध हुनेछ।