मंगलबारको बजार: नेप्से ३१ अंकले उकालो, कारोबार भने खस्कियो

काठमाडाैं, १३ साउन । साताको तेस्रो कारोबारी दिन मंगलबार सेयर बजारमा लगानीकर्ताहरूको उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३१.४९ अंकले वृद्धि भई १.०५ प्रतिशतको वृद्धिसहित ३,०००.२८ बिन्दुमा पुगेर बन्द भएको हो। यो वृद्धिले बजार पुनः तीन हजार अंक माथि टिकेको छ।
नेप्से उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ। आज ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँमा सीमित रह्यो। अघिल्लो दिन सोमबार ४ करोड ४१ लाख कित्ता सेयर किनबेच भई १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो।
आजको कारोबारमा बैंकिङ, माइक्रोफाइनान्स, बीमा, लगानी, होटल तथा अन्य समूहमा हरियाली देखिएको छ। विशेष गरी ‘अन्य’ समूह २.६९ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। माइक्रोफाइनान्स १.५७ प्रतिशत, बैंकिङ १.१४ प्रतिशत, लगानी १.०९ प्रतिशत र निर्जीवन बीमा समूह १.०८ प्रतिशतले उकालो लागे।