‘डबल बी माइनस’ रेटिङमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, कस्ताे छ कम्पनीको हालको अवस्था ?

काठमाडौं, १३ साउन । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले ‘डबल बी माइनस (आईआरएन बीबी– (आईएस))’ इस्युअर रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले दिएको उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको हालको अवस्था, प्रबन्धकीय संरचना, वित्तीय सूचक तथा नियामकीय वातावरणका आधारमा उक्त रेटिङ प्रदान गरिएको हो।
कम्पनीले सन् २०२४ को मार्च महिनादेखि मात्र व्यवसायिक सञ्चालन थालेको हो जसका कारण यसको अनुभव अत्यन्तै सीमित छ। यो कम्पनी प्रतिस्पर्धात्मक निर्जीवन बीमा क्षेत्रमा सक्रिय छ। हाल कम्पनीसँग १३ वटा बीमा योजनाहरू छन्। कम्पनीको व्यापार पोर्टफोलियो मोटर क्षेत्रमा अत्यधिक एकाग्रित छ जसले सन् २०२४ मा करिब ९३ प्रतिशत कुल बीमाशुल्क र ९७ प्रतिशत खुद बीमा शुल्कमा योगदान गरेको थियो। यही कारणले पोर्टफोलियोको अत्यधिक एकपक्षीयता पनि देखिएको छ।
इन्फोमेरिक्सका अनुसार ट्रस्ट माइक्रो इन्स्योरेन्सले व्यवसायिक सुरुवात गरेसँगै ३३ वटा शाखा तथा उपशाखाहरू विस्तार गरेको छ। यस्तै, कम्पनीको पुनर्बीमा सम्झौताले ठूलो दावीका घटनामा जोखिम व्यवस्थापन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ। कम्पनीको लगानी पोर्टफोलियो पनि विस्तार भइरहेको तथा लगानी प्रतिफल सन्तोषजनक देखिएको बताइएको छ।
यता कम्पनीले हाल सामना गरिरहेको चुनौतीहरू पनि उल्लेखनीय छन्। नेपाल बीमा प्राधिकरणले माइक्रो बीमा क्षेत्रमा लगाएको नियामकीय सीमा जस्तै बीमा रकम अधिकतम ५० लाख रुपैयाँमा सीमित राखिएको छ जसले कम्पनीको व्यवसाय विस्तार क्षमतामा प्रभाव पार्नेछ। यस्तै, बीमा शुल्क सापेक्ष अत्यधिक प्रशासनिक खर्च, लाभप्रदता सूचकहरू (लगभग १ प्रतिशत प्रतिफल सम्पत्तिमा) कमजोर रहेको तथा उत्पादन विविधीकरणको अभाव पनि नकारात्मक पक्ष हुन्।
नेपालको माइक्रो निर्जीवन बीमा क्षेत्रमा हाल चारवटा कम्पनीहरू सञ्चालनमा छन् भने १४ वटा ठूला बीमा कम्पनीहरूले समेत साना ग्राहकलाई लक्षित माइक्रो बीमा सेवा प्रदान गर्दै आएका छन्। यस्तो प्रतिस्पर्धात्मक परिवेशमा नयाँ कम्पनीले आफ्नो उपस्थिति मजबुत बनाउनु चुनौतीपूर्ण हुने देखिएको हो ।
इन्फोमेरिक्सले आगामी दिनमा कम्पनीले प्रतिस्पर्धात्मक तथा नियामकीय चुनौतीबीच आफ्नो व्यवसायलाई कसरी विस्तार गर्छ भन्ने कुरालाई मुख्य रेटिङ संवेदनशीलता (सेन्सिटिभिटी) मानेको छ। साथै, बीमा अन्डरराइटिङमा सावधानी अपनाउँदै सञ्चालन खर्चको व्यवस्थापन गर्ने क्षमता तथा लगानी पोर्टफोलियोमा विविधता ल्याउन सक्ने क्षमता पनि अर्को महत्त्वपूर्ण सूचक हुने जनाइएको छ।
यस्तै, कम्पनीको चुक्ता पूँजी न्यूनतम ७५ करोड हुनु पर्ने नियामकीय आवश्यकतासँग मेल खान पनि अनिवार्य छ। गत आर्थिक वर्षको मध्य-जुलाई २०२४ सम्मको चुक्ता पूँजी ५२ करोड ५० लाख मात्र रहेकोले कम्पनीले यो अन्तर पुरा गर्न सर्वसाधारणलाई शेयर जारी गर्ने योजना बनाएको छ।
कम्पनीको मुख्य शेयरधनीहरूमा सिफारी इन्भेस्टमेन्ट प्रालि र विप्रो फिनकोर्प प्रालिरहेका छन्, जसले मध्य अप्रिल २०२५ सम्ममा प्रत्येकले २१.४३ प्रतिशत शेयरहरू सम्हालेका छन्।