क्यालिफोर्नियामा अमेरिकी एफ–३५सी विमान दुर्घटना, पाइलट सकुशल

काठमाडाैं, १५ साउन । अत्याधुनिक एफ–३५सी लडाकु विमान अमेरिकी नौसेनाको नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार साँझ करिब ६:३० बजे दुर्घटनामा परेको छ।
अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार पाइलट सुरक्षितरूपमा विमानबाट बाहिर निस्कन सफल भएका छन् भने दुर्घटनाको कारणबारे छानबिन भइरहेको छ। स्थानीय आपतकालीन टोलीले पाइलटलाई घटनास्थलमै प्राथमिक उपचार गरेको बताइएको छ।
खुला कृषि क्षेत्रमा आगलागी
दुर्घटना स्थल क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिण–पश्चिमतर्फ रहेको खुला कृषि क्षेत्र हो। स्थानियले खिचेका भिडियोहरूमा विमानबाट आगो लागिरहेको र बाक्लो कालो धुँवा उडेको देखिएको अमेरिकी सञ्चारमाध्यम CNN ले जनाएको छ।
प्रशिक्षण इकाईको विमान थियो
दुर्घटनामा परेको विमान स्ट्राइक फाइटर स्क्वाड्रन VFA-125 (रफ रेडर्स) अन्तर्गतको थियो, जुन अमेरिकी नौसेनाका पाइलट र एयरक्रुहरूको प्रशिक्षणमा खटिएको इकाई हो।
एफ–३५ लाइटनिङ–२ लाई विश्वकै सबभन्दा आधुनिक लडाकु विमानमध्ये एक मानिन्छ। यसमा स्टेल्थ प्रविधि, डिजिटल युद्ध प्रणाली र मल्टीरोल क्षमताहरू जस्ता विशेषताहरू छन्।
विमानवाहक युद्धपोतका लागि बनाइएको संस्करण
एफ–३५सी संस्करण विशेष रूपमा अमेरिकी विमानवाहक युद्धपोतहरूबाट उड्न मिल्ने गरी निर्माण गरिएको हो। यस प्रकारको विमानको लागत करिब १०० मिलियन अमेरिकी डलर पर्ने बताइएको छ।
सन् २०२५ मा यो दोस्रो एफ–३५ विमान दुर्घटना हो। यसअघि जनवरीमा अलास्कास्थित एयर फोर्स बेसमा एफ–३५ए संस्करण दुर्घटनामा परेको थियो।
छानबिन सुरु
हाल दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन अमेरिकी नौसेनाले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रिपोर्टअनुसार मानवीय क्षति नभए पनि विमान पूर्णरूपमा ध्वस्त भएको अनुमान गरिएको छ।