भान्छा महांगो हुँदै, खर्चको तालमेल मिलाउन भयो गाह्रो
पूर्ण प्रसाद चौलागाई २०७३ मंसिर २ काठमाडौं । काठमाडौं, धुम्बाराहि निवासी विमला आचार्य दैनिक रुपमा खाने तरकारीहरुको भाउ महंगो भएको गुनासो गर्दैछिन् । विहान धुम्वाराहिको पिपलबोट चोकमा उनी तरकारी किनमेल गर्न गएको बेला उक्त गुनासो गरेकी हुन् । उनले त्यहाँबाट काउली, आलु, प्याज, गोलभेडा र सागसब्जीहरु किनेकी थिइन् ।
उनले तरकारीको भाउ आकासियको बताइन् । ‘तरकारीको भाउ सुन्दै तर्साउने छ, कति महंगिएको हौ,’ उनले भनिन् । उनले काउली प्रति किलो १२० रुपैयाँ, आलु ६० रुपैयाँ, गोलभेडा ९० रुपैयाँ, प्याज १०५ रुपैयाँमा किनेको बताइन् । तर यता कालिमाटि तरकारी बजारको मुल्य भने फरक रहेको छ । कालिमाटि तरकारी बाजरमा काउली ५५ रुपैयाँ, आलु ३६ रुपैयाँ, प्याज ६७ रुपैयाँ र गोलभेडा ५५ रुपैयाँ प्रति किलोमा बिक्री भएको छ । यसरी थोक बजारबाट खुद्रा बजारसम्म आउँदा तरकारीहरुको मुल्य दोब्बर भएको पाइन्छ ।
विमला आचार्य त केबल एक पात्र मात्र हुन् । यसरी तरकारीको चर्काे मुल्य तिर्नेको संख्या धेरै नै छ । थोक बजारमा तरकारीको मुल्य सस्तो भएता पनि खुद्रा बजारमा भने तरकारीको मुल्य अधिक हुने गर्देछ । सबै खर्च जोड्डा महंगो लाग्ने हो, तर हामीले हाम्रो लागत पनि उठाउनु पर्याे, एक व्यापारीले भने । व्यवसाय गर्दा खरिद मुल्यमा केहि नाफा जोडेर बिक्रप् गरिन्छ । तर स्थानिय बजारमा भने थोक मुल्यको दोब्बर मुल्य असुल्ने खुद्रा व्यापारीहरुको प्रवृतिले उपभोक्ताहरु महंगीको चपेटामा परेका छन् ।
यसरी बजारमा तरकारीको मुल्यमा भएको उच्च वृद्धिको अनुगमनमा भने सरकार मौन भएको देखिन्छ । विचौलियाहरुको हाबी बढ्दै जाँदा आम उपभोक्ताहरु मारमा परेका छन् । ‘सबै सामान महंगो छ, सरकारले अनुगमन गर्न पर्याे,’ विमला आचार्यले भनिन् । आचार्यले विभिन्न स्थानमा थोक तरकारी बजारको स्थापना गर्न सुझाव समेत दिएकी छिन् । ‘सरकारले ठाँउठाँउमा थोक बजार संचालन गरे सस्तोमा नै तरकारी किन्न पाइन्थ्यो,’ उनले भनिन् ।