Date

आइत, साउन १८, २०८२
Sun, August 3, 2025

बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूसँग छलफल थालेको अर्थ मन्त्रालय

बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूसँग छलफल थालेको अर्थ मन्त्रालय

काठमाडाैं, १९ साउन । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग परामर्श सुरु गरेको छ।

आइतबार अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पहिलो चरणको छलफल सम्पन्न भएको हो। छलफलमा चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका योजनाहरू कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारी सुरू गर्नुपर्ने कुरामा जोड दिइएको थियो।

उद्योग मन्त्रालयअन्तर्गत चालु वर्षको बजेटमा ‘भगत सर्वजीत उद्यमशीलता विकास कार्यक्रम’ समावेश गरिएको छ, जसले परम्परागत सीप, कला र पेसाको संरक्षण गर्दै रोजगारी तथा आम्दानी सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग, तालिम प्रदान गर्ने र उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था रहनेछ।

छलफलमा काठमाडौँ उपत्यकाभित्र सञ्चालन भइरहेका उद्योगहरूलाई बाहिर स्थानान्तरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसले धुवाँधूलो र प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। स्थानान्तरणमा प्रोत्साहनस्वरूप विशेष सुविधा उपलब्ध गराइनेछ।

त्यसैगरी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर परीक्षण प्रयोगशाला (क्वालिटी ल्याब) नेपालमै स्थापना गर्ने प्रस्ताव पनि छलफलमा परेको छ, जसले भारत, चीन लगायत अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउनेछ।

छलफलमा मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र विकास गर्ने विषयमा समेत ध्यान दिइएको थियो।

बैठकमा अर्थमन्त्री पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेश कुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटलाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न अन्य मन्त्रालय तथा विभागहरूसँग पनि क्रमशः यस्तै परामर्शहरू अगाडि बढाउने जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *