नाडा अटो सोको उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं, २७ साउन। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने १७औँ संस्करणको नाडा अटो सोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
नाडा अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री ओलीलाई भेटी उद्घाटनका लागि निम्तो दिएको थियो । नाडाको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको नाडाले जनाएको छ । यसबाट अटोमोबाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महसुस गरेको नाडाको भनाइ छ । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा हुने १७औँ संस्करणको नाडा अटो सो २०२५ हुँदैछ ।
अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७औँ संस्करणको नाडा अटो सो २०२५ आयोजना गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
यसैगरी, अध्यक्ष चौधरीले यस वर्षको अटो सोमा एक सय २५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर सोलगायतका कार्यक्रम हुने बताए । यस्तै, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट्स र दिप्पल ईभीटीओएल यूएभीजस्ता आकर्षक र भविष्यउन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नाडाले जनाएको छ ।
भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति थियो ।