विश्व व्यापार संगठन छाड्ने ट्रम्पको चेतावनी, चीनसँग २०० अर्ब डलरको व्यापारमा भन्सार बढाउने तयारी
काठमाडौं, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने २०० अर्ब अमेरिकी डलर बराबरको व्यापारमा भन्सार बढाउने तयारी थालेका छन् । अर्को साता सार्वजनिक सुनुवाई सम्पन्न भएसँगै चीनसँगको व्यापार युद्ध थप गहिरिने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले आर्थिक वृद्धिमा सुस्तता आएपछि निर्यात बढाउने उद्देश्यले चीनले आफ्नो मुद्रा कमजोर राखेको ब्लुमबर्ग न्यूजसँग बताएका छन् । मुद्रा कमजोर राख्दा आयातीत वस्तु महँगो हुन्छ भने निर्यातबाट हुने आम्दानी स्वदेशी मुद्रामा धेरै हुन्छ, जसले लगानी र रोजगारी वृद्धि गरी आर्थिक् वृद्धिदरलाई तीव्रता दिन्छ ।
अमेरिकाले सेप्टेम्बरको पहिलो साताभित्रै यो नीति घोषणा हुनेछ, जसले चीनबाट आयात हुने सेल्फी स्टिक देखि सेमी कण्डक्टरसम्मको मूल्य वृद्धि हुनेछ । भन्सार बढाउने युद्धले व्यापकता पाएसँगै यसले चीनको आर्थिक वृद्धिमा भने प्रतिकूल प्रभाव पार्नेछ । चीन सरकारले उपभोग बढाउने र माग सिर्जना गर्ने विभिन्न नीतिहरु ल्याएसँगै चीनियाँ अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको छ । केही दिनअघि चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले बाह्य परिवेश अनुकुल नभएपनि चिनियाँ आन्तरिक सुधारले अर्थतन्त्रमा सकारात्मक संकेत रहेको उल्लेख गरेको थियो ।
‘कठिनाइहरुका बाबजुद पनि चिनियाँ अर्थतन्त्र मजबुत भएर अघि बढीरहेको छ र यो एउटै बाह्य दबाबले शिथिल हुने खालको छैन । सन् २०१८ को पहिलो ६ महिनामा चिनियाँ अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढेको छ । त्यस्तै आगामी दुई त्रैमासमा क्रमशः ६ दशमलव ७ र ६ दशमलव ९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।’, ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
चीन अमेरिकाको यो रवैयाका कारण अन्य उपायबाट अर्थतन्त्रमा सुधार ल्याउने सम्बन्धमा मानसिक रुपमा तयार भैैसकेको चिनियाँ अधिकारहीहरुले उल्लेख गरेका छन् । तर अमेरिकी राष्ट्रपतिको पछिल्लो तयारीले भने चीनलाई ठूलो धक्का पुग्नेछ । अमेरिकाको यो तयारी सार्वजनिक भएसँगै एसियाली र युरोपेली पुँजी बजारमा तरंग आएको छ । जापानी येन बलियो भएको छ भने ब्लुमवर्ग डलर इन्डेक्समा उतारचढाव देखिएको छ । अर्जेन्टिना र टर्कीमा मुद्रा कमजोर हुँदा बजारको मनोविज्ञान पहिल्यै कमजोर रहेको छ । यसअघि अमेरिकाले चीनबाट हुने ५० अर्ब डलर बराबरको आयातमा भन्सार बढाएको थियो, जसको बेइजिङले अनेकौं तरिकाले प्रतिशोध लिइरहेको छ ।
सेप्टेम्बरको पहिलो साताभित्रै घोषणा भएपनि कार्यान्वयन भने केही समयपछि देखि सुरु हुने अनुमान गरिएको छ । यसअघि पनि गत जेठ अन्तिमतिर अमेरिकाले चीनबाट ५० अर्बको आयातमा भन्सार बढाउने नीति लिएकोमा त्यसको तीनसातापछि करिब ३४ अर्बका वस्तुमा यो नीति लागू भैसकेको छ । बाँकी १६ अर्ब डलरका वस्तुमा भने अगस्टमा भन्सार बढेको छैन । चीनले पनि ५० अर्ब डलरको बदलामा ६० अर्ब डलरको अमेरिकी आयातमा भन्सार बढाउने धम्की दिएको छ । अमेरिकासँगको तनावले चीनमा सबैतिर असर परेको छ । चिनियाँ अर्थमन्त्रीले संरक्षणवादी नीतिलाई बाँकी विश्वले समर्थन नगर्ने भएकाले सबैले बहुपक्षीय व्यापार सम्झौता– विश्व व्यापार संगठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
यसअघि जापानी अर्थमन्त्री तारोले चिनियाँ उपप्रधानमन्त्री ली हुसँग अमेरिकासँगको व्यापारका बारेमा चासो राखेका थिए । ली ले यसअघि अमेरिकासँग व्यापार वार्ताको नेतृत्व गरेका थिए । चीनियाँ पक्षले बहुपक्षीय व्यापार संयन्त्रलाई मजबुत बनाउने धारणा बाहिर ल्याएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भने विश्व व्यापार संगठनबाट अमेरिका बाहिरिन सक्ने बताएका छन् । उनले विश्व व्यापार संगठन अमेरिकाको पक्षमा नरहेको भन्दै यसबाट निस्कने उल्लेख गरेका हुन् ।