Date

शुक्र, भदौ ६, २०८२
Fri, August 22, 2025

३१ म्युचुअल फन्डले घोषणा गरे लाभांश, २१ प्रतिशतसम्म प्रतिफल

३१ म्युचुअल फन्डले घोषणा गरे लाभांश, २१ प्रतिशतसम्म प्रतिफल

काठमाडौं, ४ भदौ । म्युचुअल फन्डले यतिबेला इकाइधनीलाई लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ३१ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् ।

हाल अंकित मूल्यकै हाराहारीमा म्युचुअल फन्डका योजना किनेर २१ प्रतिशतसम्म प्रतिफल पाउने अवसर आएको छ ।

५ वटा योजनाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्वीटी फन्ड, सानिमा लार्ज क्याप, आरबीबी म्युचुअल फन्ड १ र लक्ष्मी उन्नति कोषले २० प्रतिशत बढी लाभांश घोषणा गरेका छन् ।

कतिपयको बुक क्लोज भई मूल्य समायोजन समेत भइसकेको छ । मूल्य समायोजन भइसकेका फन्ड किन्दा लाभांश पाइँदैन ।म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश प्रतिइकाइ २ रुपैयाँ हुन्छ ।

२० प्रतिशत बढी लाभांश पाइने म्युचुअल फन्डको बजार मूल्य ११.२३ रुपैयाँदेखि ११.४५ रुपैयाँसम्म छ । लक्ष्मी उन्नति कोषको मूल्य समायोजन भइसकेको छ।

खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु) का आधारमा यी योजना १५/२० प्रतिशत छुटमा पाइने गरेको छ । एकातिर ठूलो दरको छुट मूल्य, अर्कोतिर नगद लाभांश हुँदा म्युचुअल फन्डको प्रतिफल पनि उल्लेख्य देखिएको छ ।

अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका इकाइले समेत लाभांश दिएका छन् । खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

म्युचुअल फण्डका विभिन्न नाममा ३८ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । यीबाहेक १० वटा खुलामुखी योजना सञ्चालनमा छन् । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा खुलामुखी योजना खरिदबिक्री हुँदैन ।

यिनै योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) भुक्तानी प्रक्रियाबाट पनि खरिद गर्न सकिन्छ । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट डिम्याट खातामा जम्मा हुँदै जान्छ ।

सेयर बजारले बढ्दो लय लिँदा म्युचुअल फन्डको लाभांश पनि बढी हुने गरेको इतिहास छ । म्युचुअल फन्डले विगतमा एकै वर्ष ५० प्रतिशतसम्म लाभांश दिएको इतिहास छ ।

म्युचुअल फन्डमा आम सर्वसाधारणलाई लगानी गर्न सजिलो हुन्छ । सेयर बजारबारे धेरै जानकारी नभएकाले पनि यसमा लगानी गरी पर्याप्त लाभ लिन सक्छन् । किनकि म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापक कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले लगानी तथा कारोबारको निर्णय गर्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *