वैदेशिक रोजगारमा ठगीका उजुरी ५ हजार नाघे

काठमाडाैं, ५ भदाै । वैदेशिक रोजगारीको नाममा ठगीका घटनामा उल्लेख्य वृद्धि देखिएको छ । वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो महिना (साउन) सम्ममा ५ हजार ५५४ वटा उजुरी प्राप्त भएका छन् ।
गत आर्थिक वर्ष २०८१/०८२ मा मात्र ४ हजार ९७४ वटा ठगी उजुरी दर्ता भएका थिए । चालु साउन महिनामा थप ५८० उजुरी प्राप्त भएको विभागले जनाएको छ । असार महिनामा भने ६८१ उजुरी परेका थिए ।
गत वर्ष दर्ता भएका उजुरीमध्ये ५२८ उजुरी मिलापत्र मार्फत समाधान गरिएका थिए भने २१५ उजुरी अदालत पुगेको थियो, जसबाट ३२ करोड ८७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति भुक्तानी गरिएको थियो । साउन महिनामा ५८० उजुरीमध्ये ७४ वटा मिलापत्र र २६ मुद्दा अदालतमा पुगेका थिए, जसबाट साढे ३ करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको विभागले जनाएको छ ।
विभागको प्रहरी शाखामा पनि ५ हजार ३३७ उजुरी दर्ता भएका छन् । तीमध्ये १२ मिलापत्र भइसकेका छन् भने ४ हजार ८७६ मुद्दा फर्छ्यौट गरिएको छ। साउन महिनामा थप ५२२ उजुरी दर्ता भएका थिए, जसमा ४४३ मुद्दा फर्छ्यौट भइसकेको छ र ७९ मुद्दा अझै बाँकी छन् ।
गत आर्थिक वर्षमा ८ लाख ३९ हजारले श्रम स्वीकृति पाएका थिए । विभागले वैदेशिक रोजगारीमा जानेहरूको बढ्दो सङ्ख्याका कारण ठगीका घटना पनि बढेको जनाएको छ ।