जलविद्युत कम्पनी नाफामा फर्किँदा पनि ३१ अझै घाटामै

काठमाडाैं, ६ भदाै । नेपालका जलविद्युत कम्पनीहरुको वित्तीय नतिजामा गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय सुधार देखिएको छ । प्राकृतिक प्रकोपका कारण भौतिक संरचनामा ठुलो असर परे पनि बिजुली बिक्री आम्दानी बढेकाले धेरै कम्पनी नाफामा फर्किएका छन् ।
हाल सञ्चालनमा रहेका करिब ७५ वटा कम्पनीहरुले प्रकाशन गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, गत वर्ष कम्पनीहरुको औसत नाफा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भने औसत नाफा ऋणात्मक २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ थियो । यसपटक विद्युत बिक्री आम्दानी १३.९३ प्रतिशतले बढ्दै ३८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धिमा प्रत्यक्ष टेवा पुर्याएको हो ।
वित्तीय विवरणअनुसार, ५८ वटा कम्पनी नाफामा पुगेका छन् भने ३१ वटा घाटामा नै छन् । अघिल्लो वर्ष नोक्सानीमा रहेका धेरै कम्पनी नाफामा फर्किएका छन् भने, नाफामा रहेका धेरैले नाफा वृद्धिदर बढाएका छन् ।
सबैभन्दा धेरै नाफा कमाउनेमा साहस उर्जा पहिलो स्थानमा रह्यो, जसले ११४.७५ प्रतिशतले नाफा बढाउँदै ९० करोड २७ लाख रुपैयाँ कमायो । त्यसपछि चिलिमे हाइड्रोपावरले ६७ करोड ९५ लाख, माउन्टेन इनर्जीले ६२ करोड ९० लाख, अरुण भ्यालीले ४४ करोड ८१ लाख, अपि पावरले ४२ करोड ७६ लाख र सानिमा मिडल तमोरले ४० करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् । यसैगरी ग्रीन भेन्चर्स, राधी विद्युत, सानिमा माई, बुटवल पावर, अरुण काबेली, सिंगटी, युनिभर्सल, मिड सोलु, अपर सोलु र रिडी पावरलगायतले पनि उल्लेख्य नाफा कमाएका छन् ।
यद्यपि, अझै ३१ कम्पनी घाटाबाट उन्मुक्ति पाउन सकेका छैनन् । अपर तामाकोशी सबैभन्दा बढी २ अर्ब ५७ करोड २५ लाख घाटामा रह्यो । त्यसपछि रसुवागढीले ४८ करोड ७७ लाख, माउन्टेन हाइड्रोपावरले ४१ करोड ६० लाख, साञ्जेनले २७ करोड ९३ लाख, पिपुल्स हाइड्रोपावरले १५ करोड ७७ लाख घाटा व्यहोरेका छन् । मोदी इनर्जी, न्यादी, राप्ती, दोर्दी खोला, पञ्चकन्या माई, छ्याङ्दी, पाँचथर पावर, भिजन लुम्बिनी, लिवर्टी इनर्जी, मध्य भोटेकोशी र हिमाल दोलखासमेत घाटामा रहेका छन् ।
यस्तै, खानीखोला, घलेम्दी, त्रिशुली, जोशी हाइड्रोपावर, भुगोल इनर्जी, दोल्ती पावर, एशियन, बुद्धभूमि नेपाल र मनकामना इञ्जिनियरिङ हाइड्रोपावर पनि घाटामा छन् ।