Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

वैदेशिक सहायता लक्ष्यभन्दा आधा मात्र पुग्यो

वैदेशिक सहायता लक्ष्यभन्दा आधा मात्र पुग्यो

काठमाडाैं, ६ भदाै । सरकारले आर्थिक वर्ष २०८१/८२ मा ठूलो मात्रामा वैदेशिक सहायता ल्याउने योजना बनाए पनि वर्षको अन्त्यसम्ममा त्यो अपेक्षा अनुसार सफल हुन सकेन । अनुदान र ऋण दुवैमा लक्ष्यको आधाभन्दा कम सहायता मात्र प्राप्त भएको अर्थ मन्त्रालयले प्रकाशित गरेको ताजा तथ्याङ्कले देखाएको छ ।

सरकारी संयन्त्रमा ढिलाइ, कामको गति सुस्त हुनु र वैदेशिक साझेदारसँग समन्वय कमजोर हुनुजस्ता कारणले सहायता प्रवाहमा कमी आएको विश्लेषण गरिएको छ । आगामी दिनमा परियोजना कार्यान्वयनमा सुधार र दातृ निकायसँग प्रभावकारी सहकार्य अपरिहार्य हुने देखिएको छ ।

तथ्याङ्कअनुसार, सरकारले गत वर्ष ५२ अर्ब ३३ करोड रुपैयाँ बराबरको अनुदान लिने लक्ष्य राखेको थियो । तर प्राप्ति जम्मा २३ अर्ब ५३ करोड रुपैयाँमा सीमित रह्यो, जुन कुल लक्ष्यको ४५ प्रतिशत मात्र हो । अघिल्लो वर्ष २४ अर्ब अनुदान प्राप्त भएकोमा यसपटक करिब २ प्रतिशतले कम भएको छ ।

यस्तै, वैदेशिक ऋणतर्फ पनि लक्ष्यभन्दा कम प्राप्त भएको छ । २ खर्ब १७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखिए पनि वर्षभरिमा १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ मात्र ऋण लिन सकियो । यो लक्ष्यको करिब ५७ प्रतिशत हो । अघिल्लो वर्ष पनि करिब यत्तिकै ऋण प्राप्त भए पनि यसपटक अझ थोरै रकम आएको छ ।

अनुदान र ऋण दुवै जोड्दा सरकारको कुल लक्ष्य २ खर्ब ६९ अर्ब रुपैयाँ थियो । तर प्राप्त रकम १ खर्ब ४८ अर्ब रुपैयाँमै सीमित रह्यो, जुन कुल लक्ष्यको ५५ प्रतिशत मात्र हो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *