हिमालयन इन्भेष्टमेन्ट बैंकरको पहिलो बन्दमुखि योजना भदौ १५ देखि

काठमाडाैं, ६ भदाै । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखि योजना बजारमा ल्याउने भएको छ । कम्पनीले ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्काशनमा ल्याउन लागेको हो ।
यस फण्ड अन्तर्गत कुल ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाई जारी हुनेछन् । प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ । यसमध्ये ५० प्रतिशत अर्थात् २० करोड इकाई (२ अर्ब रुपैयाँ) कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने बाँकी २० करोड इकाई सर्वसाधारणका लागि खुला गरिनेछ ।
निवेदकले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ । सो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ र यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहनेछ ।
फण्डमा आवेदन दिने अन्तिम मिति भदौ १८ गते तोकिएको छ । तर सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा म्याद भदौ २९ गतेसम्म लम्ब्याइनेछ । बिक्री अवधिभित्र कम्तीमा २० करोड इकाई (५० प्रतिशत) खरिद हुने अवस्था पुगेमा मात्र बाँडफाँट हुनेछ ।
यदि न्यूनतम संख्यामा इकाई खरिद हुन नसकेमा योजना खारेज गरिने र १५ दिनभित्र निवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ ।