Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

नेपाल तयारी पोशाक उद्योग संघले हालको अवस्था र अवसरमा छलफल

नेपाल तयारी पोशाक उद्योग संघले हालको अवस्था र अवसरमा छलफल

काठमाडाैं, ९ भदाै । नेपाल तयारी पोशाक उद्योग संघले शनिबार नयाँ बानेश्वरस्थित संघको सचिवालयमा “नेपालको तयारी पोशाक उद्योगको वर्तमान अवस्था, चुनौती र अवसर” विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

संघका अध्यक्ष पशुपति देव पाण्डेले स्वागत मन्तव्यमा अमेरिकी सरकारको भन्सार नीतिले ट्रान्ससिपमेन्टसम्बन्धी समस्या बढाएको र नेपालले यसलाई अवसरमा बदल्न रणनीति आवश्यक भएको बताएका छन्। उनले तयारी पोशाक तथा कपडा उद्योगको प्रवद्र्धनका लागि “टेक्स्टटाइल एण्ड क्लोथिंग डेभलपमेन्ट काउन्सिल” गठनको आवश्यकता औँल्याए।

प्रमुख अतिथि मन्त्री भण्डारीले नेपाल–अमेरिका बीचको आसन्न “ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रीमेन्ट (टिफा)” वार्तालाई फलदायी बनाउन तयारी भइरहेको जानकारी दिए। उनले ट्रान्ससिपमेन्टको अवस्थामा भन्सार महसुल बढ्न सक्ने भए पनि सरकारले यस विषयमा गम्भीर रहेको बताए। साथै, तयारी पोशाक लगायत निर्यातजन्य वस्तु उत्पादनले रोजगारी सिर्जना, आर्थिक विकास र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले तयारी पोशाकको खपत निर्धारणसम्बन्धी कार्य सम्पन्न भइसकेको र विभाग निर्यातमुखी उद्योगलाई सहयोग गर्न तत्पर रहेको बताए। कार्यक्रममा संघका पूर्व अध्यक्ष, विभिन्न वस्तुगत संघका अध्यक्ष र सदस्यहरूको पनि उपस्थिति रहेको थियो। महासचिव भीमकुमार गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।

संघले मन्त्री भण्डारीको दृढ संकल्प, सोच र इच्छाशक्तिले संघलाई देशको आर्थिक विकास, उद्योग विस्तार र निर्यात प्रवद्र्धनमा अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा दिएको भन्दै आभार व्यक्त गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *