कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल

काठमाडौं, ११ भदौ । अनुभवी व्यवस्थापक डिम प्रसाद पौडेल कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन्। अर्थ मन्त्रालयबाट सञ्चालकको जिम्मेवारी पाएको केही घण्टामै बुधबार बिहान बसेको समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
पदबहालीसँगै पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।
पौडेल यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धक रहिसकेका छन्। उनीसँग राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थामा दुई दशकभन्दा बढीको व्यवस्थापन अनुभव रहेको छ।
वित्तीय क्षेत्रमा नवीन सोच र सशक्त नेतृत्वका लागि परिचित पौडेलले कृषि विकास बैंकको दीर्घकालीन रणनीति तथा विस्तार योजनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।