सुनमा निरन्तर उकालो, चाँदी पनि नयाँ उच्चतिर

काठमाडाैं, १६ भदाै । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै गएको छ। पछिल्ला केही दिनयता सुनले दैनिक नयाँ रेकर्ड तोडिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको छ। हिजो मात्र प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ तोकिएको सुन आज फेरि तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो।
यसअघि हिजोको दिन सुन तोलामा ३ हजार रुपैयाँले उकालो चढेको थियो। यसरी लगातार दुई दिनमा मात्र सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उकालो देखिएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँमा पुगेको छ।