भदौ ३० देखि देशभर सुपथ मूल्य पसल, चाडपर्वमा उपभोक्तालाई छुट

काठमाडाैं, १७ भदाै । चाडपर्व नजिकिँदै गर्दा महँगीले उपभोक्ता आक्रान्त भइरहेका बेला सरकारले राहतस्वरूप यस वर्ष पनि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा पसल सञ्चालन गर्न लागेका हुन्।
गत भदौ ८ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार सुपथ मूल्य पसल आउँदो भदौ ३० गतेदेखि सुरु हुने र छठ पर्वसम्म सञ्चालनमा रहनेछ।
कस्तो छुट पाइन्छ ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, गहुँ, चिनी, दाल, गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइनेछ। चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो ७ रुपैयाँ छुट रहनेछ।
जिरा, धनिया, चियापत्ती तथा खसी–बोका–च्याङग्रा (जिउँदो) मा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ। तोरीको तेल, सनफ्लावर तेल, भटमास तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट पाइनेछ। कर्णालीका विशेष बाली (सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी, बासमती चामल) मा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ।
साल्ट ट्रेडिङ कर्पोरेशनले भने नुन र चिनीमा प्रतिकिलो २ रुपैयाँ छुट दिनेछ। तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट हुनेछ।
कहाँ–कहाँ खुल्ने ?
काठमाडौं उपत्यकामा कालिमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल, महाराजगञ्जलगायत १२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्। साथै, ३ वटा घुम्ती (मोबाइल) पसल पनि चलाइनेछ।
उपत्यकाबाहिर साल्ट ट्रेडिङका पसल धनगढी, टिकापुर, अत्तरिया, बेलौरी, दिपायल, सुर्खेत, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशुली, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, डडेलधुरा लगायतका शहरमा सञ्चालन हुनेछन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि काठमाडौंसहित ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। यसमा झापा, ताप्लेजुङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, ललितपुर, रसुवा, तनहुँ, गोरखा, लम्जुङ, मुस्ताङ, बाँके, बर्दिया, खोटाङ, गुल्मी, रोल्पा, रुकुम (पूर्व–पश्चिम), कालिकोट, हुम्ला, डोल्पा, दैलेख, दार्चुला, अछाम, बाजुरा, बझाङ, जाजरकोट, मुगु, जुम्ला, बैतडी, कञ्चनपुर, डोटी, सुर्खेत, धनुषा, सिराहा र पर्सा जिल्लाहरू समावेश छन्।