प्रधानमन्त्री ओली रेलमार्ग हुँदै बेइजिङ् प्रवेश

काठमाडाैं, १७ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान रेलमार्ग हुँदै चीनको राजधानी बेइजिङ् पुगेका छन्। तियानजिनमा औपचारिक कार्यक्रम सम्पन्न गरी उनी बेइजिङ् प्रवेश गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
ओलीले बेइजिङ् प्रस्थान गर्नुअघि शाङ्हाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्मेलनको अवसरमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गरेका थिए।
आज भने प्रधानमन्त्री ओलीको चिनियाँ उपराष्ट्रपति हान चेनसँग भेटवार्ता तय भएको छ। भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र क्षेत्रीय विषयमा छलफल हुने बताइएको छ।
ओलीको यो भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउन सक्ने अवसरका रूपमा हेरिएको छ।