Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पुरातात्विक महत्व जोगाएर सिंहदरबार पश्चिम भागको पुनर्निर्माण गर्छौ ः ज्ञवाली

पुरातात्विक महत्व जोगाएर सिंहदरबार पश्चिम भागको पुनर्निर्माण गर्छौ ः ज्ञवाली

काठमाडौं, १९ भदौ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनर्निर्माण गर्ने बताएका छन् ।

सोमबार सिंहदरबारको पश्चिम भागको निरीक्षणपछि कुरा गर्दै ज्ञवालीले भने –“पुरातात्विक महत्वका सम्पदाहरु जोगाएर पुनर्निर्माण गर्ने कुरालाई प्राधिकरणले प्राथमिकता दिएर काम गर्छ ।”

सिंहदरबारको पश्चिम भागलाई के गर्ने भन्नेबारे अध्ययन जारी रहेको छ । अध्ययन गर्ने जिम्मेवारी लिएको कन्सलट्यान्ट फर्मलाई शीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने– “प्रतिवेदन प्राप्त भएको अर्को हप्ता निर्णय गर्छौँ र सिंहदरबार पुनर्निर्माणलाई अघि बढाउँछौं ।”

भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भनेर स्पष्ट नभएकाले त्यसको अध्ययन गर्न इन्फ्रास्टक्चर इन्जिनियरिङ्ग रिसर्च एण्ड कन्सलट्यान्ट प्रा.लि.लाई जिम्मा दिइएको छ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ ।

सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको पालामा निर्मित सिंहदरबारको वि.सं. २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरियो ।

निरीक्षणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य धुव्र शर्मा, डा. हरिराम पराजुली, सहसचिव राजुमान मानन्धर लगायत थिए ।
सरकारले गत साउन २९ गते सुशील ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि उनले सिंहदरबारको पश्चिम भागको अध्ययन छिटो टुंग्याउन अध्ययनको जिम्मेवारी लिएको कम्पनीलाई निर्देशन दिएका छन् ।

उत्तर, पूर्व र दक्षिण प्रबलीकरण जारी
वि.सं. २०३० मा आगलागीबाट नष्ट भई पछि पुनर्निर्माण भएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको भने प्रबलीकरण सुरु भइसकेको छ ।

शर्मा एण्ड न्यु टेक्निकल जेभीले प्रबलीकरण सुरु गरेको करिब तीन महिना भएको छ । २४ करोड रुपैयाँको लागतमा प्रबलीकरण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x