पश्चिम नवलपरासीमा जापानीज इन्सेफ्लाइटिस र डेङ्गीको सङ्क्रमण बढ्दै

काठमाडाैं, २३ भदाै । जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु भएको छ भने नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माका अनुसार, मृत्यु हुने तीन जना वृद्ध पुरुष—बर्दघाट–१२ का ७४ वर्षीय, सरावल–१ का ६२ वर्षीय र प्रतापापुर–१ का ५० वर्षीय—ले खोप नलगाएका थिए।
उनीहरुको मृत्यु विगत डेढ महिनाभित्र भएको हो। जिल्लामा डेङ्गी सङ्क्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। सरसफाइ नहुँदा रोगको जोखिम उच्च रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
भेषराज शर्माका अनुसार, जापानीज इन्सेफ्लाइटिस र डेङ्गी रोग मुख्यत: लामखुट्टेको टोकाइबाट सर्छ। “जापानीज इन्सेफलाइटिस् तथा डेङ्गी लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई लामखुट्टेले टोकेर मानिसमा सर्ने गर्दछ। एडिस एजिप्टी प्रजातिको लामखुट्टे सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा रोग फैलाउँछ,” उनले भने।
डेङ्गी सङ्क्रमितमा उच्च ज्वरो, टाउको दुखाइ, आँखा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने, खाना नखाने जस्ता लक्षण देखिन्छ। डाक्टर नुरुलहोदाका अनुसार, समयमा उपचार नपाएमा सङ्क्रमितको मृत्यु हुनसक्छ।
जापानीज इन्सेफ्लाइटिस् भने मस्तिष्कमा असर गर्ने गम्भीर रोग हो। क्युलेक्स प्रजातिको लामखुट्टे टोक्दा सर्ने यस रोगले मस्तिष्क सुन्निने, पक्षाघात, रिङटा लाग्ने, बेहोस हुने र मृत्युसम्मको जोखिम ल्याउन सक्छ।
स्थानीय तहहरूद्वारा लामखुट्टे नियन्त्रण र डेङ्गी रोकथामका लागि जनचेतना कार्यक्रमहरू सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।