कृषि मन्त्री अधिकारीले प्रदर्शनपछिको दमनको विरोधमा राजीनामा

काठमाडाैं, २४ भदाै । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जेन–जीले गरेको प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै मन्त्री पदबाट राजीनामा दिएका छन्।
अधिकारीले आफ्नो राजीनामामा उल्लेख गरेका छन् कि देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार गरिएको छ र यस्तो परिस्थितिमा सत्तामा बस्न उनलाई असह्य भएको छ।
उनले भनेका छन्, “स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाको विपरीत हुनेछ। यसले मलाई मेरो पदीय जिम्मेवारीमा अपराधबोध भएको महसुस गरायो। देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँछु।”
राजीनामासँगै अधिकारीले सरकारको दमनकारी कदमप्रति कडा विरोध व्यक्त गरेका छन् र अब देश तथा जनतासँगै आफ्नो नैतिक जिम्मेवारी निभाउने बताएका छन्।