केन्द्रिय बैंकले बैंकिङ्ग क्षेत्रमा एक अर्ब ५४ करोड १५ लाख रुपैयाँ लगानी गर्दै
काठमाण्डौ, १८ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब ५४ करोड १५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । आउदो असोज १ गतेदेखि ३ सय ६५ दिने मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा एक अर्ब २३ करोड ३३ लाख, राष्ट्रिय स्तरका विकास बैंकहरुमा २३ करोड ११ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ७१ लाख रुपैयाँ निक्षेप लगानी गर्ने जनाएको छ । केन्द्रीय बैंकले २०७५ असोज १ गतेदेखि त्रैमासिक रुपमा भुक्तानी हुने गरि बैंक तथा वित्तीय संस्थाको ३ सय ६५ दिने मुद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।
तथापि यसका लागि केन्दि«य बैकले बैंक तथा वित्त संस्थाहरुलाई रकम लिनका लागि आवेदन पेश गर्ने विभिन्न मापदण्ड समेत तोकेको छ । जसमा बैंक सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, न्यूनतम पूँजी कोष कायम रहेको, निष्कृय कर्जा अनुपात कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त रहेकोछ ।
त्यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधान राखेकोछ । त्यसैगरि शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तीय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टयाइएको शेयर जारी गरिसकेको हुनुपर्ने केन्द्रीय बैंकले सूचना निष्कासन गरेको छ ।