देशभरका कारागारमा उथलपुथल: १३ हजारभन्दा बढी कैदी फरार

काठमाडाैं, २६ भदाै । हालैको आन्दोलनपश्चात् देशका विभिन्न कारागारमा १३ हजार ५ सय ७२ भन्दा बढी कैदीबन्दी फरार भएका छन्। जेन–जी आन्दोलनका कारण सुरक्षाकर्मीमाथि आक्रमण र कारागारमा आगजनी तथा तोडफोड भएपछि कैदीबन्दी भाग्न सफल भएका हुन्।
मंगलबार र बुधबार फरार भएका कैदीमध्ये केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने कतिपय आफैं कारागार फर्किएका छन्। फरारमध्ये हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन लगायत जघन्य अपराधका कैदीबन्दी पनि छन्।
विशेष घटनाक्रम:
- नख्खु कारागार: सहकारी ठगीमा पुर्पक्षमा रहेका रास्वपा अध्यक्ष रवि लामिछाने र अन्य कैदीबन्दी फरार।
- सुन्धारा केन्द्रीय कारागार: भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी समेत फरार।
- रौतहट गौर कारागार: २ सय ६० कैदी फरार, १३ जना भारतीय सीमापारबाट पक्राउ।
- कास्की, चितवन, कपिलवस्तु, झुम्का, सोलुखुम्बु, कैलाली, बाँके, डडेलधुरा, कञ्चनपुर कारागार: सयौं कैदी फरार, केही मात्र नियन्त्रणमा।
- धादिङ कारागार: कैदीबन्दी भाग्ने क्रममा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते।
जिल्ला कारागार प्रशासन र नेपाल सेना, सशस्त्र प्रहरी संयुक्त रूपमा फरार कैदीबन्दी खोजीमा सक्रिय छन्। महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार हालसम्म कुन–कुन कारागारबाट कति कैदी फरार भए भन्ने विवरण संकलन भइरहेको छ।