Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

एकै महिनामा ४ अर्बको सेयर धितो कर्जा, वार्षिक वृद्धिदर ५८%

एकै महिनामा ४ अर्बको सेयर धितो कर्जा, वार्षिक वृद्धिदर ५८%

काठमाडाैं, २ असोज । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको तथ्याङ्कले सेयर धितो (मार्जिन) कर्जा उल्लेखनीय रूपमा बढेको देखाएको छ। एकै महिनामा झन्डै ४ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।

तथ्याङ्क अनुसार साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरे। यो अघिल्लो महिनाको तुलनामा २.७ प्रतिशत वृद्धि हो। साउन मसान्तसम्म कुल मार्जिन कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म यो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो।

अघिल्लो वर्षको साउन मसान्तको तुलनामा भने सेयर धितो कर्जा प्रवाह ५८.०६ प्रतिशतले बढेको छ। गत वर्ष यो कर्जा ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ मात्र थियो।

कर्जा सीमा अनुसारको विवरण हेर्दा ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा साउनमा ५.५५ प्रतिशतले बढेको छ। असार मसान्तसम्म यो रकम १६ अर्ब २ करोड ९७ लाख थियो, जुन साउन मसान्तसम्म बढेर १६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ पुगेको छ। साउन महिनामा मात्र ८८ करोड ७६ लाख रुपैयाँ यस सीमामा प्रवाह भएको छ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै वृद्धि २५ लाख रुपैयाँ सीमाको कर्जामा देखिएको छ, जसमा साउन महिनामा ६.७ प्रतिशतको वृद्धि भई कुल ५४ करोड ५६ लाख रुपैयाँ कायम भएको छ।

ठूलो आकारको कर्जा (१ करोड माथि) पनि उल्लेखनीय रूपमा बढेको छ। यो खण्डमा एकै महिनामा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ प्रवाह भई कुल १ खर्ब १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यो रकम ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ मात्र थियो। गत वर्षको साउन मसान्तमा भने यो खण्डमा ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

अन्य सीमा बढे पनि २५ लाखदेखि ५० लाखसम्मको कर्जा घटेको देखिन्छ। असार मसान्तसम्म १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ रहेको यो कर्जा साउन मसान्तसम्म १७ अर्ब ८ करोड ७४ लाख रुपैयाँमा झरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *