अयोग्य भनि हटाइएका झा, तत्कालै योग्य भई प्राधिकरणमा नियुक्त
काठमाडौंं, २२ भदौ । सरकारले कुशासनको चरम नमुना प्रदर्शन गर्दै अयोग्य भनि हटाइएका व्यक्तिलाई पुन योग्य बनाएर सोही पदमा नियुक्ति दिएको छ । सरकारले अयोग्य भनि हटाएको केही दिन नबित्दै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झालाई नियुक्त गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका एक मन्त्रीले बताए ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार झा प्राधिकरणमा दोहोरिएका हुन्। समितिले झासँगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई अध्यक्षका लागि सिफारिस गरेको थियो ।
वर्तमान सरकारले काम गर्न नसकेको भन्दै झालाई यसअघि प्राधिकरणबाट हटाएको थियो। सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका झाले सरकारको ग्रीन सिग्नल पाएपछि एकाएक मुद्दा फिर्ता लिएका थिए।