Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

दुई महिनामा ३३ अर्बभन्दा बढी वैदेशिक लगानीको प्रतिवद्धता

दुई महिनामा ३३ अर्बभन्दा बढी वैदेशिक लगानीको प्रतिवद्धता

काठमाडाैं, ५ असाेज । चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा करिब ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार कुल २३६ परियोजनामा सो रकम बराबरको लगानी प्रस्ताव दर्ता भएको हो। साउनमा १२७ परियोजनाबाट २४ अर्बभन्दा बढी र भदौमा थप १०९ परियोजनाबाट ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँको प्रतिबद्धता आएको हो।

दुई महिनाको अवधिमा १४३ परियोजना अटोमेटिक रुटमार्फत दर्ता भएका छन्। लगानी संरचना हेर्दा ७ ठूला, ४ मध्यम र २२५ साना तथा मझौला उद्योगका लागि प्रतिबद्धता आएको छ। भदौ महिनामा मात्र ५ ठूला, ४ मध्यम र १०० साना-मझौला उद्योग समेटिएका छन्।

यस अवधिमा प्रविधि हस्तान्तरण सम्झौता तथा शेयर खरिद/सब्स्क्रिप्सनमार्फत थप २ अर्ब ५० करोडको लगानी प्रस्ताव समेत आएको छ। यी परियोजना सञ्चालनमा आएमा ३३ हजार ८१४ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान विभागले गरेको छ। हालसम्म ७ हजार ४७५ परियोजनामा ६ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता दर्ता भएको छ।

क्षेत्रगत रुपमा कृषि क्षेत्रमा सबैभन्दा ठूलो २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता देखिएको छ। ९ कृषि परियोजना दर्ता भएका छन्। जानकारी अनुसार नेपालको जैविक विविधता, उब्जनी क्षमताको सुधार र निर्यातयोग्य उत्पादनको सम्भावना तथा सरकारी प्राथमिकताले कृषिमा लगानी आकर्षण बढाएको हो।

परियोजना संख्याका हिसाबले भने सूचना प्रविधि (आईटी) अग्रस्थानमा छ। आईटीका १२० परियोजनामा ५६ करोड २७ लाख ५४ हजार रुपैयाँ बराबरको प्रतिवद्धता दर्ता भएको छ, जसमा धेरैजसो स्टार्टअप प्रकृतिका छन्।

पर्यटन क्षेत्रमा ७९ परियोजनाबाट ६ अर्ब ६९ करोड २० लाख ५० हजार रुपैयाँ, सेवा क्षेत्रमा १५ परियोजनाबाट २ अर्ब ८१ करोड ५० लाख रुपैयाँ, र उत्पादन क्षेत्रका १२ परियोजनाबाट १ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ।

उद्योग विभागका अनुसार लामो समय सुस्त देखिएको वैदेशिक लगानी वातावरणमा हाल पुनः सकारात्मक गति देखिन थालेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *