विकासशील देशका बीमक, पुनर्बिमा र नियामकको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा
काठमाडौं, २५ भदौ । विपद् जोखिम प्रतिरोध क्षमता विकासका लागि वित्तिय लगानी तथा बीमाका सम्बन्धमा काठमाडौंमा आगामी असोज ९ र १० मा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । हरेक दुई–दुई वर्षमा आयोजना हुने विकासशील देशका बीमक, नियामक र पुनर्बीमा कम्पनीहरुको काठमाडौंमा हुने सम्मेलनमा विभिन्न देशहरुको अनुभव आदानप्रदान, नियामकीय तौरतरिका, वीमा क्षेत्रका चुनौती र चुनौतीसँग जुझ्न सहकार्यमा जोड दिइने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।
नेपालको बीमा बजार करिब ७९ अर्ब रुपैँयाको छ । गत आर्थिक वर्षमा जीवन विमा कम्पनीहरुले ५७ अर्ब रुपैँया र निर्जीवन विमा कम्पनीहरुले २२ अर्ब रुपैँया कारोबार गरेका छन् । प्राकृति विपद्ले ठूलो क्षति हुने गरेको भएपनि बीमित र बीमा नभएकाको क्षतिको ठूलो खाडल रहेको छ । द इकोनोमिस्ट पत्रिकाका अनुसार, सन् २०१४ मा विश्वभरी १२५ अर्ब डलरको क्षति भएकोमा ५० अर्ब डलरको अर्थात् ३० प्रतिशत बीमा भएको थियो । प्राकृतिक विपद्का कारण विकासशील देशहरुले ठूलो क्षति व्यहोर्दै आएका छन् । सन् १९९१ देखि सन् २००५ को बीचमा ९० प्रतिशत प्राकृतिक विपत्तिका कारण मानिसहरुको मृत्यु भएको छ । सन् २०१५ मा नेपालमा आएको प्रलयकारी भूकम्पका कारण कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत बीमा भएकोमा ३ प्रतिशत क्षति भएको थियो ।
विपद्को वित्तिय सुरक्षणको अभावमा उद्यम तथा व्यवसायको पुनस्र्थापना, राहत र पुनर्निर्माण कम मात्र हुने गरेको छ । विकासशील देशहरु प्राकृतिक विपत्तिको बढी जोखिममा छन् । पछिल्लो समय जलवायु परिवर्तनले पनि प्राकृतिक विपत्तिको त्रास बढाइरहेको छ । सम्मेलनका क्रममा नेतृत्व, लघु बीमा, डिजीटाइजेसन, प्रविधि उपयोग, साइबर जोखिम तथा प्राकृतिक विपत्तिका विषयमा छलफल हुनेछ । बीमा क्षेत्रमा नयाँ रणनीतिहरु, बीमा क्षेत्रमा मूल्य शृंखला तथा जोखिमको परिदृश्यका सम्बन्धमा सघन छलफल हुनेछ ।
सम्मेलनमा विदेशी र स्थानीय गरी ५०० प्रतिनिधि सहभागी हुनेछन् । १५ देशबाट २०० जना विदेशी प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ ।