अमेरिकामा विदेशी विद्यार्थी आगमनमा ऐतिहासिक गिरावट, एशियाली विद्यार्थी सर्वाधिक प्रभावित

काठमाडाैं, २२ असाेज । अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमनमा पछिल्लो वर्ष उल्लेखनीय गिरावट आएको छ। द न्यू योर्क टाइम्सले गरेको डाटा विश्लेषण अनुसार सन् २०२५ को अगस्टमा अमेरिकामा आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या गत वर्षको तुलनामा १९.१ प्रतिशतले घटेको छ।
अन्तर्राष्ट्रिय व्यापार प्रशासन र अमेरिकी सरकारी आगमन रेकर्डका तथ्यांकअनुसार यो गिरावट कोभिड महामारीपछिको सबैभन्दा ठूलो हो। यसले विदेशी विद्यार्थीमा निर्भर अमेरिकी विश्वविद्यालयहरूका लागि गम्भीर चुनौती उत्पन्न गरेको विश्लेषकहरूको भनाइ छ।
विशेषज्ञहरूले यो अवस्थाको प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनिक र नीतिगत निर्णयहरूलाई मानेका छन्। ट्रम्प प्रशासनका कडा आप्रवासन नीतिहरू — जस्तै भिसा अन्तरवार्ता ढिलाइ, १९ देशमा नयाँ यात्रा प्रतिबन्ध र विद्यार्थी भिसा आवेदकहरूको कडाइमा जाँच — का कारण धेरै विद्यार्थीहरूले असुरक्षित महसुस गर्दै आफ्नो अध्ययन गन्तव्य परिवर्तन गरेका छन्।
रिपोर्ट अनुसार, यो गिरावट विशेषगरी एशियाली विद्यार्थीहरूमा सर्वाधिक देखिएको छ, जसले अमेरिकाका कुल अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छन्। एशियाबाट विद्यार्थी आगमन यो वर्ष २४ प्रतिशतले घटेको छ। भारतबाट मात्र विद्यार्थी संख्यामा ४४.५ प्रतिशतको भारी कमी आएको छ, जबकि इरानबाट भर्ना हुने विद्यार्थीको संख्या ८६ प्रतिशतले घटेको द न्यू योर्क टाइम्सले जनाएको छ।
त्यस्तै, अमेरिका–चीनबीचको सम्बन्धमा देखिएको तनाव र कडा भिसा नीतिका कारण चिनियाँ विद्यार्थीहरूको संख्यामा पनि उल्लेख्य कमी आएको छ।
अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार, अमेरिकाले सन् २०२५ को अगस्ट महिनामा तीन लाख १३ हजार १३८ विद्यार्थी भिसा जारी गरेको छ। यो अघिल्ला वर्षहरूका तुलनामा निकै कम संख्या हो।
विदेशी विद्यार्थीको आगमन घटेसँगै अहिले नै अमेरिकाका ठूला विश्वविद्यालयहरूमा प्रभाव देखिन थालेको छ। विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च ट्यूशन शुल्कमा निर्भर विश्वविद्यालयहरू आर्थिक दबाबमा परेका छन्।
हालको शैक्षिक वर्षको नामांकन डाटा अझै अन्तिम नतिजा आउन बाँकी भए पनि, अगस्ट महिनाको गिरावटलाई शिक्षाविद्हरूले “संभावित संकटको प्रारम्भिक संकेत”*का रूपमा व्याख्या गरेका छन्।